माई खोला हाइड्रोपावरको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो ।  यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।