असार १०, काठमाडौं । असार ६ गतेदेखि विक्री खुला भएको एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
प्रतिऋणपत्र रू. १ हजार दरको उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि असार ९ गतेसम्म रहेपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि ढिलो अवधि असार २० गतेसम्म विक्री खुला रहने कम्पनीले जानकारी दिएको छ ।
यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरोशेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले जेठ २० गते अनुमति दिएको हो ।