टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा महत

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उनले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि १ अर्ब रुपैयाँ छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताएका हुन। “यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उनले भने, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।” यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । “सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो, धेरै पक्षमा ध्यान पुर्‍याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ, अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ”, उनले भने । टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताए । पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापारका लागि यो बाटो सबैभन्दा छोटो हुने उहाँको भनाइ छ । त्यस्तै ढिकुरे र सिम्ला सिँचाइ आयोजना पनि सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । रासस