कात्तिक १, पेचिङ (चीन) । गत त्रैमासमा चीनको आर्थिक वृद्धिदर सुस्ताएको छ ।
त्यहाँको राष्ष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जुलाई–सेप्टेम्बर त्रैमासमा अर्थतन्त्र ४ दशमलव ९ प्रतिशत बढेको छ ।
योसँगै लगातार छैठौं त्रैमास पनि अर्थतन्त्र बढेको भएपनि वृद्धिको यो दर अघिल्लो त्रैमासको भन्दा चाहीं निकै कम हो । अप्रिल–जुन त्रैमासमा चीनको अर्थतन्त्र ७ दशमलव ९ प्रतिशतले बढेको थियो ।
वर्षको पहिलो त्रैमासमा वृद्धिको दर १८ दशमलव ३ प्रतिशतको कीर्तिमानी स्तरमा रहेको थियो । कोरोना भाइरसको महामारीको प्रभावबाट चीनको अर्थतन्त्र सुदृढ रुपमा उब्रिएको छ । तर संक्रमणमा भएको वृद्धि र आपूर्ति शृङ्खलामा देखिएको दबाबका कारण परिदृश्य फेरिएको छ ।
चिपको अभाव र कयौं प्रान्तमा बिजुलीको अभावका कारण गत त्रैमासमा चीनको औद्योगिक उत्पादनले गति गुमाएको छ । गर्मीको बेलामा कोभिडको संक्रमण बढेपछि उपभोक्ता खर्च पनि सुस्त भएको छ । घरजग्गामा पनि लगानी घटेको छ । एजेन्सी