‘कोइला प्रतिस्थापनको विकल्प हरित कोइला’

काठमाडौं। नेपालमा पहिलोपटक ऊर्जा उत्पादक कम्पनी बकस रिन्युएबल इनर्जी कम्पनी लिमिटेडले वनजंगलका झारपात सदुपयोग गर्दै हरित कोइला उत्पादनको काम थालेको छ । विदेशबाट आयात हुने पत्थर कोइला प्रतिस्थापनको विकल्पका रूपमा यसलाई हेरिएको छ । बकस रिन्युएबलले वनजंगलमा कुहिएर खेर जाने झारपात, पातपतिंगर, उखुको खोस्टा, तोरीको डाँठ र काठको सदुुपयोग गर्दै हरित कोइला उत्पादन गर्न थालेको कम्पनी संस्थापक कुवेरमणि नेपालले जानकारी दिए । कम्पनीले ३० करोड रूपैयाँ लगानीमा सर्लाहीको ईश्वरपुरमा उद्योग खोलेर काम अघि बढाएको हो ।  नेपालका अनुसार विदेशबाट आयात हुने एक किलो कोइलाबाट सात हजार क्यालोरी शक्ति उत्पन्न हुन्छ भने हरित कोइलाबाट ४५ सय क्यालोरी शक्ति मात्रै उत्पन्न हुन्छ । यस हिसाबले आयातित कोइलाभन्दा केही महँगो देखिए पनि डिजेलभन्दा ५० प्रतिशत र एलपी ग्यासभन्दा ४५ प्रतिशतसम्म सस्तो पर्ने हरित कोइलाको प्रयोग औषधि उद्योग, डेरी उद्योग, इँटाभट्टालगायत विभिन्न कलकारखानामा गर्न सकिने नेपालले जानकारी दिए । ३० हजार मेट्रिक टन हरित कोइलाले २५ हजार मेट्रिक टन कोइला प्रतिस्थापन हुन सक्ने उनको भनाइ छ । नेपालका अनुसार अहिलेको हिसाबमा नेपाल भित्रिने ५० प्रतिशत कोइला प्रतिस्थापनका लागि यस्ता २० ओटा उद्योग खुल्नुपर्छ । एउटा हरित कोइला उद्योगले वर्ष दिनमा ६४ करोड रूपैयाँ बाह्य मुलुकमा जानबाट रोक्न सक्ने उनको दाबी छ । एउटा हरित कोइला उद्योगले वर्ष दिनमा ६४ करोड रूपैयाँ विदेशिनबाट रोक्न सक्ने बकस रिन्युएबल कम्पनी लिमिटेडको भनाइ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनमा एक अर्ब ७९ करोड १५ लाख ८६ हजार रूपैयाँ बराबरको ६९ हजार ६ सय ८९ मेट्रिकटन कोइला आयात भएको देखिन्छ । नेपालमै उत्पादन भएको हरित कोइलाको प्रयोगले उद्योगधन्दाका लागि आवश्यक ठूलो परिमाणमा विदेशबाट आयात हुने कोइला प्रतिस्थापन गर्दै व्यापारघाटा कम गर्न समेत सहयोग मिल्नेछ । उद्योगलाई आवश्यक पर्ने कोइला विदेशबाटै आयात गर्नुपर्ने बाध्यता भएकाले महामारी, नाकाबन्दी जस्ता संकटमा कोइला नआउँदा त्यसले नेपाली उद्योगलाई ठूलो घाटा हुने गर्छ । सन् २०१५ मा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि भारतबाट डिजेल, पेट्रोल, एलपी ग्यास, कोइलालगायत सबै किसिमका इन्धनको आयात घटेको थियो । जसले गर्दा त्यसबेला नेपालीले ठूलो ऊर्जा संकट भोग्नुपरेको थियो ।  त्यही समस्यालाई मध्येनजर गर्दै आफ्नै मुलुकमा ऊर्जा उत्पादन गर्न सके संकटको अवस्था आउने थिएन भन्ने सोच पलाएपछि कम्पनीको टिमले चीन र भारतका विभिन्न शहरको भ्रमण गरी हरित कोइला उत्पादन गर्नेबारे अध्ययन गरेको थियो । अध्ययनपछि नेपालमा पहिलोपटक हरित ऊर्जा उत्पादन गर्ने कम्पनी स्थापना भएको हो । बकसले उत्पादन गरेको हरित कोइला अहिले परीक्षणको रूपमा विभिन्न उद्योगमा प्रयोग भइरहेको छ । यसको बजार मूल्य अहिले प्रतिकिलो २५ रूपैयाँ छ । उत्पादन खर्च प्रतिकिलो न्यूनतम १८ देखि २१ रूपैयाँ पर्छ । आयातित कोइलाको भन्सार मूल्य २५ रूपैयाँ ७० पैसा छ भने बजार मूल्य ३० देखि ३५ रूपैयाँ पर्न आउँछ ।