खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।