शृङ्गार गरेर हिँड्नु अधिकांश नारीको चाहना हुन्छ। गाउँ वा सहर बस्ने, घरेलु वा कामकाजी महिलाले धेरथोर शृङ्गार गरेकै हुन्छन्। पुराना पुस्ताका महिलाले शृङ्गारलाई सौभाग्यको परिपूरक मान्थे र धार्मिक संस्कारमा वर्णन गरिएका १६ शृङ्गार (टीका, गाजल, चुरा, पोते आदि) लगाउनुलाई आफ्नो दिनचर्यासँग जोड्थे। अहिलेका पुस्ताले शृङ्गारलाई व्यक्तित्व विकाससँग जोड्न थालेका छन्। उनीहरू प्राकृतिक शृङ्गारभन्दा पनि कपाल काट्नु, रङ्गाउनु, आँखीभौँ मिलाउनु, अनुहार र शरीरका रौँ हटाउनु, विभिन्न किसिमका व्रिक्रम र जेल प्रयोग गरेर छाला राम्रो बनाउनु जस्ता कृत्रिम शृङ्गारलाई अपनाउन थालेका छन्। उनीहरू सौन्दर्यका साथै छालाको स्वास्थ्यमा सचेत रहन थालेका छन्।