यसरी गर्न सकिन्छ घरमा सस्तो लागतमा फर्निचर व्यवस्थापन

रुपेश प्रधान काठमाडौं । पहिले घर निर्माण र त्यसपछिको काम घरको इन्टेरियर डिजाइनका लागि फर्निचर व्यवस्थापन गर्नु हो । घरलाई सुन्दर बनाउन फर्निचरले पनि भूमिका खेलेको हुन्छ । घर तयार भएपछि फर्निचर व्यवस्थापन गर्नु उत्तिकै महत्व भए पनि लागत अभावले कतिपयले फर्निचरमा भने सम्झौता गर्ने गरेको पाइन्छ । तर, सकभर कुनै पनि सर्तमा घरमा आवश्यक फर्निचर व्यवस्थापनमा सम्झौता गर्नु राम्रो नहुने यस क्षेत्रका जानकार सुझाउँछन् । पछिल्लो समय बजारमा नयाँ र महँगा डिजाइनका फर्निचर उपभोक्तालाई छानीछानी खरिद गर्ने सुविधा छ । देखासिखीमा घरको साजसज्जाका लागि इन्टेरियर डिजाइनमा नचाहिने सामान पनि थोपर्ने गरेको पाइन्छ । घर सजाउन कस्तो फर्निचर छान्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । डिजाइनले पनि कस्ता सामान उक्त घरका लागि आवश्यक हुन्छ भन्ने निर्धारण गर्न सहज हुन्छ । अहिलेको समय सस्तो, राम्रो र बलियो तीन वटै गुणसम्पन्न वस्तु पाउनु कठिन भएको फर्निचर क्षेत्रमा लामो समय काम गरेकाहरू बताउँछन् । त्यसका लागि सुरुमै केही विषयमा ध्यान दिँदा राम्रा सामानमा बढी बजेट आवश्यक नपर्ने हुन सक्छ । किफायती मूल्यमा फर्निचर खरिद गरेर पनि घरलाई सजाउन सकिन्छ । बजारमा धेरै थरीका सामान पाइन्छन् । सस्तो र राम्रो तरिकाले फर्निचर व्यवस्थापनका लागि बजारको अध्ययन हुनु आवश्यक हुन्छ । सुरुमा आफ्नो बजेट कति छ, त्योअनुसार डिजाइन गरेर घर बन्नुभन्दा पहिले नै आवश्यक सामानको अर्डर दिनु र फर्निचरको राम्रो ज्ञान भएका व्यक्तिबाट सुझाव लिएर डिजाइनमा केही फेरबदल गर्नु राम्रो हो । पहिले नै यसमा ध्यान दिन किन आवश्यक छ भने जहिले पनि तयारी सामान लिँदा केही महँगो पर्ने हुन्छ । घर बनिसकेपछि सामान खरिद गर्नुभन्दा पहिले नै योजना बनाउँदा कम लागत पर्न सक्छ । उस्तै गुणस्तरको एउटै सामान हजारदेखि लिएर दसौँ हजारसम्म पर्न सक्ने भएकाले घरको डिजाइनले पनि लागतमा फरक पार्दछ । त्यस कारण आफ्नो बजेट कस्तो छ र घरको डिजाइन कुन तरिकाले भइरहेको छ, त्यस्तो फर्निचरलाई प्राथमिकता दिनु राम्रो हुन्छ । कोठामा फर्निचर सजाउन रङले पनि फरक पार्छ, त्यसैले रङ छनोटमा पनि उत्तिकै ध्यान दिनुस् । डिजाइनअनुसार नै घरको गेटदेखि, भान्सा, बाथरुम, बेडरुम, पाहुना कोठाका लागि सही सामग्री छनोटका लागि आफूलाई मन परेको डिजाइन भएका छिमेकी, फर्निचर विज्ञ र यसमा काम गरिरहेकासँग सुझाव लिनुहोस् । केही वर्षअघिसम्म झ्याल, ढोका, दराज, कुर्सी, टेबलदेखि घरमा आवश्यक प्रायः फर्निचर काठले बनेका हुन्थे । तर, बदलिँदो अवस्था र परिवेशले काठको स्थान भने वैकल्पिक सामग्रीले ओगटिसकेका छन् । लागत घटाउने अर्को उपाय भनेको काठको विकल्प खोज्नु हो । यद्यपि, सकेसम्म काठ नै प्रयोग गर्नु राम्रो हो । पछिल्लो समय काठ महँगो हुँदै गएकाले अभाव देखिन थालेको छ । काठ नै प्रयोग गर्न तपाईंसँग एउटा राम्रो विकल्प के हुन सक्छ भने घर लामो समयको योजनासहित बनाइने भएकाले १० वर्षपछि घर बनाउने सोचमा हुनुहुन्छ भने अहिले नै खाली जग्गामा रूख रोप्नुहोस् । यसले घर बनाउँदा काठको अभाव बेहोर्नुपर्दैन । पछिल्लो समय काठको ठाउँमा नयाँ–नयाँ विकल्प देखापरेका छन् । हेम्प, स्टिल, बाँस, युपीभीएस, प्लास्टिकलगायतको प्रयोगबाट बनेका फर्निचर पनि उत्तिकै उपयोगी विकल्प हुन सक्छन् । त्यसैले यस्ता किसिमका सामानको सही ढंगले प्रयोग गरे पछुताउनुपर्ने हुँदैन । तर, घरको डिजाइनअनुसार यस्ता कुन सामग्री, कहाँ प्रयोग गर्ने हो, यसले फरक पार्न सक्छ । त्यस कारण यी सामानको प्रयोग गरिरहँदा विज्ञको सुझाव लिनु अझ बढी लाभप्रद हुन सक्छ । यसरी सामान्य कुरामा ध्यान दिने हो भने तपाईंले फर्निचर व्यवस्थापनमा धेरै हदसम्म लागत घटाउन सक्नुहुन्छ । (प्रधान नेपाल फर्निचर तथा फर्निसिङ संघका निवर्तमान अध्यक्ष हुन् )