मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका लागि बजेट माग

पर्वत । मध्यहाडी लोकमार्गको वैकल्पिक रुटको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रेका लागि बजेट माग गर्दै पर्वतका सातओटा वडाका बासिन्दा मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका छन् । ट्रयाक खुलेको दुई दशकसम्म पनि कालोपत्र हुन नसक्दा नागरिकहरूले सास्ती व्यहोर्न बाध्य भएको भन्दै बजेटका लागि दबाब दिन आइतवार जनप्रतिनिधिसहित मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका हुन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट सार्वजनिक गर्दैछ । सोही बजेटमा पर्वतको कुश्मा र फलेवास नगरपालिकाको मुख्य सडकको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रको योजना लगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइएको कुश्मा नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष झलक रिमालले बताए । उनका अनुसार दबाब दिनका लागि पर्वतवाट निवाचित प्रदेश सभा सदस्य भक्त कुँवर, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिका भित्रका वडा नं. ९, १०, ११, १२, १३ र १४ तथा फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका वडाअध्यक्षसहित स्थानीयवासी पुगेका थिए ।  सो अवसरमा मुख्यमन्त्री पाण्डेले उक्त सडक स्तोरोन्नति तथा कालोपत्र गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी वर्षको बजेटमा समावेश गर्ने र आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन् । पोखरा–बागलुङ सडकको विकल्पमा समेत प्रयोग गर्न सकिने भएकाले धौलागिरि क्षेत्रको दोस्रो लाइफलाइनको रूपमा विकास गर्न आफू सकारात्मक रहेको र डीपीआरमा उल्लेखित लागत अनुसारको बजेट विनियोजन गरिने बताए ।   मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत दोविल्लादेखि कार्किनेटासम्मको दूरी १३ किलोमिटर छ, जसमध्ये ठूलीपोखरीसम्मको झण्डै ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी खण्डको कालोपत्रका लागि संघ र प्रदेशमध्ये कतैबाट पनि सम्बोधन नभएपछि दबाब नै दिनुको विकल्प नभएको वडाअध्यक्ष रिमालले बताए । उक्त सडकको कालोपत्रका लागि रु. ३४ करोडको डीपीआर बनाइएको छ ।  मुख्यमन्त्री पाण्डेसँग कुश्मा नगरपालिका वडा नं. १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा विकास गर्न अनुमतिसमेत माग गरिएको छ भने विशेषज्ञ डाक्टर र डिजिटल एक्सरे मेसिनलगायत अन्य स्वास्थ्य उपकरणका लागि बजेट मागसमेत गरिएको छ । त्यसैगरी गहेपोखरा–बुमी–ठुलीपोखरी, ठुलीपोखरी–मातेपानी, रोहोटे, बिरौटा, औसेलुचौर–आर्थर सडक स्तरोन्नतिका लागि समेत बजेट माग गरिएको छ ।  अहिले पनि पोखरा–बागलुङ सडक अवरुद्ध हुँदा यस क्षेत्रका नागरिकले दोविल्ला–ठुलीापेखरी–कार्किनेटा हुँदै स्याङ्जाको नौडाँडा तर्फवाट पोखरा लगायतका गन्तव्यमा जाने गरेका छन् ।  स्याङ्जा, बुटवल, पाल्पा जानका लागि यस क्षेत्रका नागरिकलाई यो सडक धेरै छोटो पर्ने भएकाले पनि कालोपत्र अत्यावश्यक रहेको प्रदेश सभा सदस्य भक्त कुँवरले बताए । उनले यो सडकका लागि जसरी पनि बजेट विनियोजन गर्न आफूले समेत दबाब दिने बताए ।   त्यस्तै संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र माअ‍ोवादी केन्द्रीय सदस्य सुदीप कुँवरले पनि आगामी वर्षको बजेटमा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरिने र सम्बोधन नभए थप दबाब सिर्जना गरिने बताए ।