असोज ६, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा आएको छ ।
कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।
आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर असोज १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य रू. ५३९, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ४९७ र नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार १९७ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै पनि हद लाग्ने छैन । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि भदौ २१ गतेदेखि ३१ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको उक्त शेयर पुन : लिलामीमा विक्री खुला गरेको हो ।