काठमाडौं । अमेरिकाका ठूला विमान सेवा प्रदायक कम्पनीका कार्यकारीहरुले त्यहाँका राष्ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनलाई बुधवार देशका मुख्य विमानस्थलनजिक फाइभजी प्रविधि प्रयोगमा ल्याउने योजनामा तत्कालै हस्तक्षेप गर्न अनुरोध गरेका छन् ।
यसले परिवहन र अर्थतन्त्रमा नै गम्भीर असर पुर्याउन सक्ने चेतावनी उनीहरुले दिएका छन् ।
अमेरिकाका १० ओटा विमान सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले एक पत्रमा सो कार्यक्रममा ढिलाई गर्न संघीय उड्ययन प्राधिकरण (एफएए) मा विमानस्थलनजिक फाइभजी प्रयोगमा ल्याउने योजनामा थप ढिलाई गर्न अनुरोध गरेको आफूले हेरेको भन्दै सीएनएनले समाचार छापेको छ ।
फाइभजीको सिग्नलले विमानभित्र भएका रडारको अल्टिमिटर लगायत उड्ययन प्रविधिमा असर पुर्याउने चिन्ता उड्ययन जगतले व्यक्त गरिरहेका छन् ।
यसले यात्रु र कार्गो सञ्चालन, आफूहरुको कार्य बल र समग्र अर्थतन्त्रमा पुर्याउन सक्ने तरङ्ग प्रभाव गणना गर्न नसकिने पत्रमा कार्यकारीहरुले देखेका छन् । सिधा शब्दमा भन्नु पर्दा यसले देशको व्यापारलाई ठप्प बनाउने उनीहरुको भनाइ छ ।
उक्त पत्रबारे शुरुमा रोयटर्सले समाचार छापेको थियो । विमान सेवा कम्पनी र दूरसञ्चार उद्योगहरुबीच वार्ता चलिरहेको पत्रमा भनिएको थियो ।
मोबाइल सेवा प्रदायक कम्पनी भेरिजोन र एटीएन्डटीले शुरुमा जनवरीसम्म फाइभजीको शुरुआतमा ढिलाइ गरेका थिए । त्यसपछि भएको सीमित विमानस्थलमा आधारित ढिलाई गर्ने सहमतिको म्याद यही हप्ता गुज्रिएको छ ।
मुख्य केन्द्रहरुमा उडानका लागि अनुमति नपाएसम्म अधिकांश हवाई यात्रा र ढुवानी कार्य ठप्प हुने र यसको अर्थ हिजोअस्तीको जस्तो दिनमा १ हजार १०० उडान र १ लाख यात्रीहरुले यात्रा रद्द गर्नु पर्ने, अन्यत्रबाटै यात्रा गर्नु पर्ने वा ढिला यात्रा गर्नु पर्ने अवस्था हुन सक्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
यस विषयमा भेरिजोन र एटीएन्टीले केही टिप्पणी नदिएको बताइएको छ । पत्रमा ह्वाईट हाउस, यातायात मन्त्रालय, संघीय सञ्चार आयोग र एफएएलाई सम्बोधन गरिएको छ । सो पत्रमा हस्ताक्षर गर्नेमा एयरलाइन्स फर अमेरिकाका सदस्यहरु छन् । यो समूहमा अलास्का एयरलाइन्स, अमेरिकन एयरलाइन्स, अट्लास एयर, डेल्टा एयर लाइन्स, हवाईएन एयरलाइन्स, यूनाइटेड एयरलाइन्स जस्ता हवाई सेवा प्रदाक कम्पनीहरु छन् ।
विमानस्थल नजिक फाइभ जी शुरु गरिएमा यसले उड्ययन क्षेत्रमा विनाशकारी असर पुर्याउने सोमवार साँझ युनाइटेड एयरलाइन्सले चेतावनी दिएको थियो ।
रनवेको साइडमा प्रयोगमा ल्याउँदा फाइभ जी संकेतले खराब मौसम भएको बेलामा विमान चालकहरुले विमान उडाउने र अवतरण गर्न निर्भर रहने सुरक्षासम्बन्धी महत्वपूर्ण उपकरणमा दखल पुर्याउने चेतावनी एक विज्ञप्तिमा युनाइटेडले दिएको थियो ।
सुरक्षासम्बन्धी चिन्ताले हउष्टन, नेवार्क, लस एन्जलस, सान फ्रान्सिस्को र सिकागो समेतका विमानस्थलमा सञ्चालन भइरहेको विमानमा उल्लेख्य प्रतिबन्ध उत्पन्न हुने सक्ने पनि बताइएको छ ।
वायरलेस कम्पनीहरुले फाइभजी शुरु गरेपछि यात्रा गर्ने सर्वसाधारणहरुको सुरक्षा सुनिश्चित गर्ने सोमवार साँझ एक विज्ञप्तिमा एफएएले भनेको थियो । फाइभजी सम्बद्ध उडान ढिलाई र यात्रा रद्दलाई सीमित बनाउन एफएएले उड्ययन उद्योग र वायरलेस कम्पनीहरुसँग निरन्तर सहकार्य गर्ने पनि एफएएको भनाइ छ । (एजेन्सीको सहयोगमा)