पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन ।
वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य राखेर कम्पनीले डेढ वर्षअघिबाट ग्याँस उत्पादन शुरु गरेको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि खाना पकाउने एलपिजी ग्याँसको चरम अभावपछि स्वदेशमै बायो प्रविधिबाट ग्याँस उत्पादन गर्ने योजनाअनुसार यस कम्पनीको अवधारणा आएको बताइन्छ ।
छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको एलजिपी ग्याँसको आयात न्यूनीकरण गरी देशभित्रै वैकल्पिक ऊर्जामा आत्मर्निभर बन्ने प्रयास थालनी गरेको गण्डकी ऊर्जा कम्पनीबाट उत्पादित ग्यासले अहिले बजार पाउन नसकेको गुनासो सञ्चालकहरुको छ । कम्पनीले कुहिने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । कम्पनीबाट उत्पादित ग्याँस सिलिण्डरमा भरेर घरघरमा पठाउने गरिएकामा बन्दाबन्दीपछि कम्पनीका अधिकांश ग्राहक बन्द भए । ग्राहक बन्द भएपछि कम्पनीबाट उत्पादनसमेत कम हुन थाल्यो ।