बन्द भयो एमआआरपी, अब बनाउँदा विद्युतीय पासपोर्ट नै बनाउनु पर्ने

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेको छ ।  राहदानी विभागले मङ्सिर १५ गतेबाट मेशिन रिडेवल राहदानी(MRP)को लागि टोकन वितरण बन्द गर्दै विद्युतीय राहदानी अनिवार्य गरेको हो ।मेशिन रिडेवल राहदानीको लागि टोकन लिइसकेको भए पनि विद्युतीय राहदानीको लागि निवेदन दिन सकिने विभागले जनाएको छ । टोकन लिईसकेकाले मेशिन रिडेवल राहदानी पनि लिन सक्ने छन् ।टोकन नलिएकाले भने अब विद्युतीय राहदानी नै बनाउने पर्ने छ  ।  राहदानी विभागले २०७८ मङ्गसिर १ गतेबाट विद्युतीय राहदानी जारी गर्न शुरु गरेको हो । विद्युतीय राहदानी लिन राष्ट्रिय परिचय पत्र वा सोको परिचय नम्बर लिई विभागको वेवसाइट https://emrtds.nepalpassport.gov.np/ मार्फत आवेदन गरी समय बुक गर्नु पर्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धित जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालयहरुबाट लिन सकिने छ । विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको हो । यद्यपि मेशिन रिडेवल राहदानीले पनि काम भने गर्ने छ। मेशिन रिडेवल राहदानीको म्याद नसकिएसम्म अर्को बनाउन अनिवार्य गरिएको छैन । विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ? यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउंछ । मंसिर १५ गते पछि निवेदनको संख्या उल्लेख्य बढाइएको छ । मंसिर १५ गतेबाट ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनलाइन बुकिङ्ग खुला गरिएको छ । अर्को हप्ताबाट काठमाडौं र भक्तपुरबाट सेबा शुरु गर्ने कार्यक्रम छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी जारी कार्यको एक हप्ता अवलोकन गरेपछि अन्य जिल्ला प्रशासन कार्यालयहरुमा सेवा शुरु गरिने छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा एक हप्ता भित्रै तयारी भएको राहदानी उपलब्ध गराउने कार्यक्रम छ ।कसरी निवेदन दिने?विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन (Apply for ePassport) भन्ने बटन थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।अत: प्रिइन्रोलमेन्ट गर्नु पूर्व आफ्ना सक्कल कागजपत्र जस्तै नागरिकताको प्रमाणपत्र, पुरानो मेशिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र आदि कागजात स्क्यान गरेर तयारी अवस्थामा राख्नु होला । १६ बर्ष माथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुको लागि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर आवश्यक पर्ने हुनाले र जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले सो लिई राख्नु हुन राहदानी विभाग अनुरोध गर्दछ ।मोबाइल वा क्यामेराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउण्ड आएको हुन सक्ने हुनाले सकभर स्क्यानरको प्रयोग गरेर सक्कल कागजजात नै स्क्यान गर्नुपर्ने हुन्छ । नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्नुपर्छ ।  करिब ३०० डिपिआई (डट पर इन्च) र ४०० के बी भन्दा कम हुने गरेर स्क्यान गऱ्यो भने साइज मिल्छ । धेरै नै कालो खालको डकुमेन्ट छ भने सो भन्दा कम डिपिआइ गरेर स्क्यान गर्न सकिन्छ । फोटोकपीबाट स्क्यान नगर्नु होला ।आफूले नागरिकता लिएको वा बसाई सराई गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीको लागि निवेदन दिन सकिन्छ । विद्युतीय राहदानीको लागि निवेदन संकलन गर्न शुरु गरिएका जिल्लाहरु र कुटनीतिक नियोगहरुको बारेमा जानकारी लिएर मात्र निवेदन दिनु होला । फाराम भरी सकेपछि मिति समय र निवेदन दिने ठाउँ छनौट गर्नु पर्ने हुन्छ । भरिसकेको फाराम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट भएको हुन्छ । फाराम भर्दा नाम, थर, जन्म मिति, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति आदि दोहोराई तेहेराई हेरेर राम्रोसšग भर्नु होला ।आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ । तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने हुन्छ । अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ ।