हुम्लामा सबै गाउँपालिकाका विद्यालय खुले

कोरोना कहरले लामो समय बन्द रहँदै आएका हुम्ला जिल्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णयलाई कार्यान्वयन गदै विद्यालय सुचारु भएका हुन ।  बालमन्दिर माध्यामिक विद्यालयमा प्रधानाध्यापक कैलाश रोकायाका अनुसार विद्यालय सुचारु भएको पहिलो दिनमै सत्तरी प्रतिशत विधार्थीको उपस्थितिमा पठन पाठन सुरु भएको बताउनुभयो । उहाँले शिक्षक र विद्यार्थी सबैले अनिवार्य मास्क लगाएर पठन पाठनमा सहभागिता जनाउनु पर्ने विद्यालयले बनाएको नियम अनुसार पढाई सुचारु भएको बताउनुभयो । उक्त विद्यालयमा साढे चार सय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । त्यसैगरि सिमकोटकै मानसरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले पहिलो दिन ५० प्रतिशत विधार्थीको उपस्थितिमा कक्षा सञ्चालन भएको बताउनुभयो । उहाँले केही विद्यार्थीले मास्क आफै लगाएर आएको र नलगाएका विधार्थीलाई विद्यालयले व्यवस्था गरेर पढाई सुरु गरेको बताउनुभयो । सिमकोट गाउँपालिकामा सामुदायिक २३ र पाँच वटा निजी गरी २८ वटा विद्यालय रहेको र सबैमा आइतबारबाट पठन पठान सुरु भएको गाउँपालिकाले जनाएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले १७ वटै विद्यालयमा पठन पाठन आईतवारबाट सुरु भएको बताउनुभयो । उहाँले लामो समयपछि पठन पाठन सुरु हुँदा विद्यार्थी खुसीका साथ विद्यालयमा उपस्थिति भएको बताउनुभयो ।