नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड—नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर पार्टी भन्दा माथि हुन खोजेकाले आफूहरु अलग भएको बताउनुभएको छ । उहाँले ओलीको गुटगत प्रवृत्ति र स्वेच्छाचारिताका विरुद्ध अलग भएर उनीविरुद्ध आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभयो ।
बिहीबार सुर्खेतमा आयोजना गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले जसले पार्टीको सुझाव मान्दैन, जसले पार्टीको विधान भन्दा माथि छु भन्छ, उसैले पार्टी र देशलाई संकटमा पार्न लागेको हुँदा पार्टी र देशलाई बचाउन आफूहरु ओलीबाट अलग भएको बताउनुभयो ।
उहाँले ओलीले आफूहरुलाई दास बनाउने, हनुमान बनाउन खोजेको हुँदा त्यसको प्रतिवाद गर्न अलग हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने व्यक्ति आफू नै भएकोले अहिले पछुतो लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, मैले नै हो ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने, तर के गर्नु, अहिले पछुतो लागिरहेको छ ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्नुभयो । उहाँले देश र जनताको अभिमतलाई समेत लत्याएर संविधान कुल्चेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयो । पार्टी एकता विथोल्ने काममा प्रधानमन्त्री ओली लागेको स्मरण गर्दै उहाँले ओलीकै कारण अहिले देश र पार्टीमा संकट आएको जिकिर गर्नुभयो ।
नेकपा सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षतामा भएको विरोधसभामा पूर्व वनमन्त्री शक्ति बस्नेत, पार्टीका सहइन्चार्ज एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, नेताहरु कालीबहादुर मल्ललगायतले सम्बोधन गर्नुभएको थियो ।