जोन्टा क्लबद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं (अस) । कोरोना संक्रमणका कारण अस्पतालमा अक्सिजन अभाव देखिँदै आएको छ । विशेषगरी कोभिड संक्रमित गर्भवती र भर्खरै आमा बनेकाहरूको सहयोगार्थ जोन्टा क्लब अफ काठमाडौंले थापाथलीको प्रसूतिगृहलाई चार वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । यसअघि पनि जोन्टा क्लबले पहिलो चरणको कोरोना महामारीको समय खाद्यान्न प्याकेट, पीपीई सेट, काठमाडौं र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चालाई किट वितरण गरेको थियो । महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि काम गर्ने अभियानका साथ यो सहयोग उपलब्ध गराइएको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बताइन् ।