पाल्पाको रिब्दीकोटमा खुल्यो बिउ स्रोत केन्द्र

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बिउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी संस्थाको ६० लाख लगानीमा बिउ स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा एक घन्टामा चार टनसम्म गहुँको बिउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मेसिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बिउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।      स्थानीय स्तरमा उत्पादित अन्नबालीको बिउलाई लामो समयसम्म भण्डारण गरिराख्न समस्या थियो । बिउ भण्डारमा समस्या हुँदा गुणस्तरीय बिउको समेत अभाव थियो । मेसिन सञ्चालनमा आएपछि गुणस्तरीय बिउ सहज रूपमा पाइने अध्यक्ष जिसीले बताए । पाल्पामा उत्पादित गहुँ, मकै, फापर र कोदोलगायतका बिउ ग्रेडिङ कार्य थालिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिका लागिपरेको पालिका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिइन् ।      कृषियन्त्र तथा उपकरणको माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा प्रशस्त बजेट लगानी गर्न थालेको उपाध्यक्ष खनालको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले मेसिन सञ्चालन गर्दा किसानलाई गुणस्तरीय बिउ उत्पादनमा सुविधा हुने बताए ।      धान, गहुँ, मकै, फापर र कोदोलगायत बिउ ग्रेडिङ गर्न समस्या रहेको गाउँपालिकाले सो मेसिन सञ्चालनमा ल्याएपछि कृषि उत्पादनमा राम्रो हुने अपेक्षा गरिएको उनको धारणा छ । कृषि क्षेत्रमा आधुनिकीकरण गरेसँगै उत्पादनमा वृद्धि र रोजगारीका अवसर बढेको छ । पाल्पाका पालिकाले कृषि उत्पादनमा वृद्धि र युवा कृषि पेसामा आकर्षण बढाउन मिनीटिलर, टनेल, हातेट्रयाक्टरलगायत सामग्री सहयोग गर्दै आएको छ । रासस