एप्पललाई उछिन्दै साउदी अराम्को बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

वैशाख २९, काठमाडौं । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्को अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  बुधवार अराम्कोको बजार पूँजीकरण २४ खर्ब ३० अर्ब डलरभन्दा ठ्याक्कै मुनि रहेको फ्याक्ट सेटले बताएका छन् । बुधवार एप्पलको शेयर मूल्य प्रतिकित्ता ५ प्रतिशतले घटेपछि यसको बजार पूँजीकरण २३ खर्ब ७० अर्ब डलरमा आएको  थियो ।  आर्थिक वातावरण खस्किने भयबीच लगानीकर्ताहरुले प्रविधि समेत कयौं उद्योगका शेयर सस्तो मूल्यमै भएपनि मिल्काउने प्रवृत्ति देखिएपछि ऊर्जा कम्पनीका शेयर र मूल्य बढिरहेको छ । जनवरी ४ मा प्रतिकित्ता १८२ डलर ९४ सेन्टमा पुगेयता एप्पलको शेयर मूल्य करीब २० प्रतिशतले घटिसकेको छ ।  विश्वभर महँगी बढेसँगै केन्द्रीय बैंकहरुले महँगी नियन्त्रण गर्न एकपछि अर्को गर्दै  ब्याजदर बढाइरहेका छन् । चीनको कोभिड नियन्त्रण गर्न लकडाउन कसिलो बनाइरहेको अवस्था र आपूर्ति शृङ्खलामा विश्वभर व्याप्त समस्याहरुबीच विश्वको आर्थिक वृद्धिदर सुस्ताउने चिन्ताबीच पछिल्लो समय प्रविधि क्षेत्र बियरिश बनेका छन् । विश्वका ठूला प्रविधि कम्पनीहरुको शेयरमा तीव्र सेल अफ देखिएको छ ।  उता, यो वर्ष शुरु भएयता अराम्कोको शेयर भने २२ प्रतिशतले बढिसकेको छ । विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिसँगै गत वर्ष कम्पनीको पूर्ण वार्षिक मुनाफा दोब्बरभन्दा धेरै भएको थियो । एप्पल सन् २०२० मा अराम्कोलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी बनेको थियो ।