पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई थप प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरे । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण काम गरेर थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अहिलेको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकम अक्सिजन व्यवस्थापन गर्न, उपकरण अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेजस्ता काममा उपयोग गरिने अस्पतालले बताएको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले कोरोना महामारीका कारण विषम देश परिस्थितिबाट गुज्रिरहेकाले नागरिकको स्वास्थ्यमा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले अस्पताललाई सहयोग गरिएको बताए । ग्रुपले यसअघिको बन्दाबन्दीका बेला पनि सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्युड किट चार्टर्ड गरिएको जहाजमार्फत ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन सहयोग गरेकामा गोल्छा ग्रुपप्रति आभार प्रकट गरे । यो सहयोगले फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।