स्याङ्जा । च्याउ बिक्रीबाट वालिङ नगरपालिका–२ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झन्डै ९ वर्ष खाडीका मुलुकमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिक रूपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
तीन वर्षदेखि व्यावसायिक च्याउ खेती थालेका अर्यालले वार्षिक मनग्य आम्दानी गर्दै आएका छन् । युट्युबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित भएपछि अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थालेका हुन् । च्याउको सम्भावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा २ हजार मुढामा सीताके च्याउ र ५ सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए ।
‘६ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो’, उनले भने, ‘हाल दुई ठाउँमा रहेको फार्ममा झन्डै १० हजार मुढामा सीताके च्याउ छ ।’
व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झन्डै ९० लाख लगानी भएको उनी बताउँछन् ।
अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेका छन् । सुरुका वर्षमा लगानी धेरै भए पनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ छ ।
सुरुका २/३ वर्ष निकै संघर्ष गर्नुपरे पनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी ५०० र कन्य च्याउ प्रतिकेजी २५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
‘उत्पादन गर्न झ्याउ मान्नुभएन, उत्पादन जति गरे पनि बजारको कुनै समस्या छैन’, उनले भने, ‘यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारमा खपत हुँदै आएको छ ।’ रासस