निर्यातभन्दा आयात निकै बढी हुँदा नेपालको व्यापारघाटा डर लाग्दोसँग बढ्दै गए पनि निर्यातको सम्भावनाका क्षेत्र भने प्रशस्त देखिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ताजा फूलमात्रै विश्वका सातओटा देशमा निर्यात भएको पाइन्छ । फूल निर्यात परिमाण र मूल्यका हिसाबले ज्यादै थोरै भए पनि सम्भावनाका दृष्टिले भने उच्च रहेको देखिन्छ ।
नेपालमा फूल र पर्यटनलाई सँगै जोड्न सकिएको छैन तर विश्व पर्यटन बजारमा यस्तो पर्यटनको सम्भावना निकै छ । नेपालमा कृषि पर्यटनको सम्भावना राम्रो भए पनि त्यसमा पर्याप्त काम हुन नसक्दा यसबाट लाभ लिन सकिएको छैन ।
नेपालमा अघिल्ला ५ वर्षका दाँजोमा पछिल्ला वर्षहरूमा फूलको निर्यात बढिरहेको छ । तर, १२ वर्ष अगाडिको तथ्यांक हेर्दा भने ताजा फूलको निर्यात निकै कम छ । सन् २००८ मा ६ लाख ४५ हजार ७४२ मेट्रिक टन ताजा फूल निर्यात भएकामा आव २०२१/२२ मा २ लाख ५१ हजार ९३३ मेट्रिक टन निर्यात भएको देखिन्छ । किन फूल निर्यात घट्यो र अहिले किन बढ्दै गएको छ भन्नेमा सरकारी निकायले कुनै चासो दिएको पाइँदैन । तर, नेपालको भौगोलिक बनोट, स्थानीय बजार र निर्यात आदिका दृष्टिले फूल खेतीको सम्भावना उच्च छ । अझ यसले मौरीपालनलाई समेत सहयोग गर्ने देखिन्छ ।
नेपालका मौलिक जातका फूलको स्थानीय मागलाई नै आफ्नो उत्पादनले धान्न सकेको छैन । सबैभन्दा बढी फूल खपत हुने चाड तिहारमा भारतबाट फूल आयात गर्नु परिरहेको छ । त्यस्तै भ्यालेन्टाइन डेका लागि मात्रै लाखौं रुपैयाँको गुलाफ आयात हुन्छ । भ्यालेन्टाइन डेका लागि नेपालबाट गुलाफ निर्यात गर्ने उद्देश्यसहित खेती थालिए पनि त्यसमा विविध समस्या रहेपछि निर्यात हुन सकेन ।
नेपालमा व्यावसायिक फूल खेतीको सम्भावना छ तर ढुवानीमा निकै ठूलो समस्या छ । ताजा फूल एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वैलाउन नदिन तथा बिग्रन नदिन विशेष सवारीसाधनको आवश्यकता पर्छ । तर, त्यो व्यवस्था नहुँदा फूल विक्रीमा समस्या भएको छ । शहरी क्षेत्रका आसपासमा जग्गा घडेरी बन्दै गएकाले खेतीका लागि जग्गा पाउनै मुश्किल हुन्छ भने शहरबाट निकै टाढा खेती गर्दा ढुवानीमै समस्या छ । यो समस्या समाधान हुने हो र फूल उत्पादनलाई बजारसँग जोड्ने राम्रो संयन्त्र बनाउने हो भने नेपाल फूलमा आत्मनिर्भर बन्न सक्छ ।
नेपालमा १ अर्ब रुपैयाँभन्दा बढी फूलको कारोबार हुने गरेको आकलन गरिएको छ । वर्षेनि करीब १२ देखि १५ प्रतिशतसम्म फूलको बजार बढिरहेको छ । नेपालको बजारमा झन्डै ९० प्रतिशत उत्पादन स्वदेशी फूल रहेको बताइन्छ तर विशेष अवसरहरूका लागि चाहिने फूल भने आयात नै गर्नुपर्ने बाध्यता छ । त्यस्ता फूलको उत्पादन नेपालमै सम्भावना नभएको चाहिँ होइन ।
नेपालमा फूल र पर्यटनलाई सँगै जोड्न सकिएको छैन तर विश्व पर्यटन बजारमा यस्तो पर्यटनको सम्भावना निकै छ । नेपालमा कृषि पर्यटनकै सम्भावना राम्रो भए पनि त्यसमा पर्याप्त काम हुन नसक्दा यसबाट लाभ लिन सकिएको छैन । फूल पनि कृषि पर्यटनको एउटा अंग हुन सक्छ । चीनले फूल खेतीसँग पर्यटनलाई जोडेर दोहोरो लाभ लिएको छ । फूल पर्यटनको आधार बन्न सक्छ भन्ने कुरा त गोदावरी बोटानिकल गार्डेनमा आन्तरिक पर्यटकको संख्याले नै पुष्टि गरेको छ । यस्तो फूलहरूको बागवानी बनाएर विभिन्न किसिमका फूलको खेती गर्ने हो भने विभिन्न लाभ लिन सकिन्छ ।
व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श र तालिम दिने, आर्थिक–प्राविधिक सहयोग गर्ने, यातायात–बजारको व्यवस्थापन, आधुनिक प्रजनन विधिबाट माटो सुहाउँदा बीउहरू उत्पादन गर्ने, भण्डारण र प्रशोधनको व्यवस्था गर्ने आदि पक्षमा ध्यान दिए फूलखेती पनि नेपालको आर्थिक रूपान्तरणमा एउटा महत्त्वपूर्ण अंग बन्ने सम्भावना छ । निर्यातका लागि सम्भाव्य वस्तुको खोजी गर्दै तिनलाई व्यावसायिक बनाउनु आजको अपरिहार्यता हो र यसका लागि फूल पनि एउटा वस्तु हुन सक्ने भएकाले यसतर्फ ध्यान जानु आवश्यक छ ।