देशको पूर्वी सीमाञ्चल काँकडभिट्टा अहिले पो भव्य सहर भयो । पहिला कहाँ हुनु यस्तो । जंगलामुलुक थियो । औलोको प्रकोप उस्तै । दिउँसै कराउँथे स्याल । कहिलेकाहीं गर्जिन्थे बाघ पनि । २०२० सालको दशकमा राजा महेन्द्रले बर्मेली नेपालीभाषीलाई बोलाए । हूल बाँधिएर आएका बर्मेली जंगल फडानी गरेर बस्न थाले सिमानामा, पर्खालजसरी । बस्ती बाक्लिँदै गयो । जंगल मासिँदै गए । स्यालहरू हराउँदै गए । बाघको गर्जन सुनिन छाड्यो ।