वाणिज्य बैंकको स्प्रेडदर औसत ३ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमासमा २७ ओटा वाणिज्य बैंकको औसत कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) ३ प्रतिशत कायम भएको छ । गत आव २०७७/७८ को दोस्रो त्रैमासमा औसत ४ दशमलव शून्य ६ प्रतिशत रहेको स्प्रेडदर यो अवधिमा १ दशमलव शून्य ६ विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मार्फत वाणिज्य बैंकहरूलाई स्प्रेडदर ४ दशमलव ४ प्रतिशत कायम गर्न भनेको छ । स्प्रेडदर भनेको बैंकहरूले निक्षेपमा लिने ब्याजदर र कर्जामा दिने ब्याजदरबीचको अन्तर हो । स्प्रेडदरले बैंकहरूको कमाइलाई देखाउने गर्छ । स्प्रेडदर जति धेरै भयो त्यति धेरै बैंकहरूले कमाउने गर्छन् । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको स्प्रेडदर शून्य दशमलव शून्य १ विन्दुले वृृद्धि भएको छ । यो बैंकको गत आवको दोस्रो त्रैमासमा स्प्रेडदर ४ दशमलव ३७ प्रतिशत रहेको थियो । चालू आवको सोही अवधिमा यो स्प्रेडदर ४ दशमलव ३८ प्रतिशत कायम भएको छ । स्प्रेडदर घटेसँगै बैंकको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गरेको बैंकरहरूले बताएका छन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका अनुसार निक्षेपको ब्याजदर बढेका कारण चालू आवको दोस्रो त्रैमासमा स्प्रेडदर घटेको हो । ‘स्प्रेडदर घट्दा बैंकको नाफामा प्रत्यक्ष प्रभाव परेको हुन्छ । गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकहरूको नाफा बढेको भएपनि यो व्यवसाय विस्तारअनुरूप नाफा बढेको होइन,’ उनले भने । कर्जाको ब्याजदर स्थिर भएको र निक्षेपकाको व्याजदर वृद्धिका कारण चालू आवको दोस्रो त्रैमासमा स्प्रेडदर घटेकाले आगामी दिनमा कर्जाको ब्याजदर बढ्ने अधिकारीले जानकारी दिए । ‘बैंकहरूको स्प्रेडदर घटेसँगै नाफामा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । आगामी दिनमा बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर महँगो हुन्छ,’ उनले भने । बैंकहरूले ब्याजदर बढाएर प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले सर्कुलर जारी गरी बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तरलाई कडाइ गरेका कारण बैंकको स्प्रेडदरमा प्रत्यक्ष प्रभाव परेको नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिए । ‘राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा मुद्दती निक्षेपको र बचतबीचको ब्याजदरकोे अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक हुन नहुने व्यवस्था गरेपछि सबै बचतको दर पनि बढ्यो । बचतको दर बढेका कारण कोषको लागत पनि बढ्यो । यसले गर्दा बेस रेट बढेको छ भने स्प्रेडरेट घटेको छ,’ उनले भने ।   औसतभन्दा बढी स्प्रेडदर ११ बैंकको चालू आवको दोस्रो त्रैमासमा ११ ओटा वाणिज्य बैंकको स्प्रेडदर औसतभन्दा बढी रहेको छ । चालू आवको दोस्रो त्रैमासमा स्प्रेडदर औसतभन्दा बढी हुनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, ग्लोबल आइएमई, प्राइम कमर्शियल, नबिल, कुमारी, प्रभु, नेपाल एसबीआई, सिटिजन्स र सिभिल बैंक रहेका छन् । यी बैंकको स्प्रेडदर ३ प्रतिशतभन्दा बढी छ । औसतभन्दा कम अर्थात् स्प्रेडदर ३ प्रतिशतभन्दा कम भएका बैंक १६ ओटा रहेका छन् ।