जनवरीमा आए १६ हजार ९७५ पर्यटक

काठमाडौं । सन् २०२२ को पहिलो महीना नेपालमा आउने विदेशी पर्यटकको संख्या गतवर्ष सन् २०२१ को तुलनामा बढेको छ । यो वर्षको पहिलो महीनामा जनवरीमा नेपालमा १६ हजार ९७५ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको जनवरीमा नेपाल घुम्न आउनेको संख्या जम्मा ८ हजार ८७४ थियो । सन् २०२० र सन् २०१९ को तुलनामा भने यो संख्या कम हो । विश्वव्यापी भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सन् २०२१ मा आउने पर्यटकको संख्यामा कमी आएको हो । सन् २०२० को जनवरी महीनामा नेपालमा ७९ हजार ७०२ र सन् २०१९ जनवरीमा ८१ हजार २७३ पर्यटक आएका थिए । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बीच यो वर्षको पहिलो महीनामा गतवर्षभन्दा उल्लेख्य पर्यटक आएका छन् । यसले शिथिल जस्तै भएको नेपालको पर्यटनमा आगामी दिनमा पर्यटकहरू आउने क्रम र संख्यामा वृद्धि हुने देखिएको छ । बोर्डको तथ्यांकअनुसार यो महीनामा आउने पर्यटकमा सार्क देशहरूको संख्या बढी छ । भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ५ हजार ५०१ पर्यटक आएका छन् । यीमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट नेपालमा ३ हजार ९१६ पर्यटक आएका छन् भने बंगलादेशबाट १ हजार २३६ जना पर्यटक आएका छन् । त्यसपछि अमेरिकी देश क्यानडा र संयुक्त राज्यबाट नेपालमा आउने पर्यटक धेरै छन् । यी दुई देशबाट जनवरी महीनामा कुल ३ हजार ६१८ जना नेपाल घुम्न आएका छन् । त्यसमध्ये यूएसएबाट ३ हजार २५७ पर्यटक नेपाल घुम्न आएका छन् । यूरोपका बेलायत, स्पेन, स्वीडेन, डेनमार्क, जर्मनीलगायत देशबाट ३ हजार ५२७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये सबैभन्दा बढी बेलायतबाट १ हजार ८२४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । न्यूजील्यान्ड र अष्ट्रेलियाबाट १ हजार २४० पर्यटक नेपाल आएका छन् भने अन्य देशहरूबाट १ हजार ९७५ जना विदेशी पर्यटकहरू नेपाल आएका छन् ।