विराटनगर (अस) । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले मंगलवार मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सिमाना जोडिएका नेपालका ठूला शहरहरूको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए ।
भेटमा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्व बैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ थियो । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने भन्दै उनले महानगरलाई आर्थिक रूपमा बलियो बनाउन सुझाव समेत दिए ।
वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँट, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्था लगायत विषयमा विश्व बैंकका प्रतिनिधिले मेयर कोइरालासँग जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करीब १५० मिलियन डलर बराबरको हुनेछ ।