चैत १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका - ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् ।
वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरीदको लागि प्राप्त भएको रकममध्ये केहि औषधी खरीद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरुले हानिनोक्सानी पुर्याउने उद्धेष्य राखी औषधि खरीद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले बताएको छ ।