मुडे–चरिकोट सडक विस्तार : ठेक्का तोड्ने प्रक्रियापछि काम सुचारु गर्दै ठेकेदार कम्पनी

दोलखा । ६ वर्षदेखि अलपत्र दोलखाको मुडे–चरिकोट सडकखण्डको काम ठेकेदार कम्पनीले सुचारु गरेको छ । स्थानीयवासीको निरन्तरको दबाब तथा सडक निर्माण आयोजनाले ठेक्का तोड्ने अन्तिम तयारी गरेपछि ठेकेदार कम्पनीले सडक निर्माण पुनः शुरू गरेको हो । भारतीय ठेकेदार कम्पनी सकिल हैदरका साथै नेपाली कम्पनीहरू शंकरमाली र सुनौले खिम्तीमध्ये सुनौलो खिम्तीले सडक निर्माण पुनः शुरू गरेको कम्पनीका भीमसेन भण्डारीले बताए । विभिन्न कारणले साझेदारहरूबीच कुरा मिल्न नसक्दा मुडे–चरिकोट सडक खण्ड स्तरोन्नति हुन नसकेको, तर अब यो आर्थिक वर्षभित्र कम्पनीले जसरी पनि काम सम्पन्न गर्ने दाबी उनले गरे । करीब १५ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिसकेको र करीब ५ किलोमिटर पुग्ने बेस तथा सब–बेस तयार गरिएको ठेकेदार कम्पनीले बताएको छ । तीनओटा एक्स्क्याभेटर, १२ ओटा टिपर, एउटा रोलर, एउटा ग्रेडर, दुईओटा मिक्श्चर र दुई पानी ट्यांकरसहितका इक्वीपमेन्ट अहिले फिल्डमा रहेको भण्डारीले बताए । ‘पुराना स्टाफहरू अहिले काममा फर्किएका छन् । तिर्नुपर्ने ठाउँमा आंशिक रूपमा भुक्तानी दिएको छु,’ उनले भने, ‘नाफा नोक्सान जे भए पनि माघदेखि कालोपत्र शुरू गरी यो आर्थिक वर्षभित्र सबै काम सक्छु ।’ ठेकेदार कम्पनीले विगतमा ‘आँखामा छारो हाल्ने’ काम मात्र गरेकाले दोलखाका स्थानीय र सडक निर्माण आयोजना भने ठेकेदार कम्पनीले काम गर्नेमा विश्वस्त छैनन् । ठेकेदार कम्पनीले काम सम्पन्न गर्ने बलियो आधार नदेखिएकाले ठेक्का तोड्न आफूले सम्बन्धित निकायमा कागजात पठाइसकेको खाडीचौर–जिरी सडक निर्माण आयोजनाका प्रमुख कृष्ण पन्तले बताए । भरपर्दाे आर्थिक विकल्पसहित ठेक्का तोड्न आयोजनाले विभागलाई सिफारिश गरिसकेको उनले जानकारी दिए । भारतीय एक्जिम बैंकको लगानीमा सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको लामोसाँघु–जिरी सडक अन्तर्गतको मुडे–चरिकोट खण्ड ठेकेदारले काम नगरेकाले ६ वर्षयता अलपत्र छ । उक्त सडकखण्डको निर्माणको ठेक्का सम्झौता भारतीय कम्पनी सकिल हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा भ्याटबाहेक ७० करोड रुपैयाँमा गरेका थिए । चार दशकअघि स्वीस सरकारको सहयोगमा लामोसाँघु–जिरी ११० किलोमिटर एकतर्फी सडक बनेको थियो । सवारीसाधनको चाप बढ्दै गएपछि भारतीय एक्जिम बैंकको सहयोगमा ७ वर्षअघि सडक सुधार गरी दुई लेनको बनाउन काम शुरू भएको थियो । लामोसाँघु–मुडे सडकखण्डको स्तरोन्नति सम्पन्न भइसकेको छ भने चरिकोट–जिरी सडक खण्डको स्तरोन्नतिको काम जारी छ ।