काठमाडौं (अस) । चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले नयाँ जिंगल सार्वजनिक गरेको छ । नेपाली गीत–संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले देशभरबाट ६२ जना प्रतियोगीलाई वाईवाई जिंगल रिमिक्स प्रतियोगिता गराएर त्यसमध्येबाट उत्कृष्ट हुनेको नाम सावर्जनिक गरेको छ । योसँगै २० वर्षअघि ‘हामी सबैको वाईवाई’ नाराको जिंगल अबदेखि रिमिक्स भर्जनमा आउनेछ । प्रतियोगितामा देशभरबाट सहभागी भएका ६२ जनामध्येबाट सुनसरी, इटहरीका सम्राट भट्टराईले गाएको रिमिक्स भर्जनको वाईवाई जिंगल उत्कृष्ट हुँदै विजेता बन्न सफल भएको छ । विजेता भट्टराईलाई वाईवाईका तर्फबाट नगद पुरस्कार १ लाखसहित सम्मान गरिएको छ ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक नीर्वाण चौधरीले रिमिक्स जिंगलले वाईवाईको ब्रान्ड प्रवर्द्धनमा थप भूमिका खेल्ने बताए । वाईवाईको ब्रान्ड प्रवर्द्धनका लागि भूमिका खेलेको भन्दै उनले विजेताबाहेकका बाँकी ९ स्पर्धी हरेकलाई व्यक्तिगत २५ हजार नगद दिने वाचा गरे । वाईवाईले यसअघि विश्व संगीत दिवस अवसर पारेर प्रतियोगिता आयोजना गरेको थियो । वाईवाईले आफ्नो विज्ञापनमा बजाउँदै आएको जिंगल गीत गायक जेम्स प्रधान र नवीन के भट्टराईले गाएका थिए । वाईवाईले हाल प्रचलनमा रहेको सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादक तथा गायक÷गायिकालाई संगीत क्षेत्रमा सफल बनाउन सहयोग गरेकामा गायक जेम्स प्रधान, नवीन के भट्टराई र सञ्जय श्रेष्ठलाई समेत धन्यवाद दिएको छ ।