वैशाखमा नबिल म्युचुअल फण्डका दुबै योजनाको एनएभी घट्यो

जेठ १३, काठमाडौं । चैत मसान्तको तुलनामा वैशाख मसान्तसम्ममा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको एनएभी घटेको छ ।  नबिल  ब्यालेन्स फण्ड - २ र नबिल इक्विटी फण्डको एनएभी(प्रतिइकाई खुद सम्पत्तिको मूल्य) घटेको हो  । नबिल इक्वीटी फण्डको एनएभी चैत मसान्तमा रू. १७ दशमलव २४ रहेकोमा वैशाख मसान्तमा घटेर रू. १६ दशमलव ९९ मा झरेको हो । त्यसैगरी नबिल ब्यालेन्स फण्ड- २ को एनएभी  वैशाख मसान्तमा रू. १६ दशमलव २६ रहेको छ । योजनाको एनएभी चैत मसान्तसम्ममा रू. १६ दशमलव ३५ थियो । ती दुबै योजनाको एनएभीसँगै नाफामा पनि कमि आएको छ । गत चैत मसान्तसम्ममा रू. ६८ करोड ६४ लाख ४४ हजार नाफा कमाएको नबिल ब्यालेन्स फण्ड २ को नाफा वैशाख मसान्तमा भने रू. ६७ करोड ६० लाख ७५ हजारमा सीमित भएको हो । यस योजनाले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३९ करोड ६७ लाख ६० हजार र ऋणपत्रमा रू. २१ करोड ७४ लाख लगानी गरेको छ ।  त्यसैगरी गत चैत मसान्तसम्ममा रू. ९० करोड १४ लाख ३२ हजार नाफा कमाएको नबिल इक्विटी फण्डको नाफा वैशाख मसान्तमा रू. ८६ करोड ९९ लाख ६८ हजारमा सीमित भएको हो ।  वैशाख मसान्तसम्ममा ती दुई योजनाले शेयर बजारमा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा कमि आएसँगै एनएभी र नाफामा कमि आएको हो ।