लाइटरमा मूल्यांकनको लफडा

वीरगञ्ज। भन्सार विभागले आयातित लाइटरको मूल्यांकन अस्वाभाविक बढाएको भन्दै व्यवसायी विरोधमा उत्रिएका छन् । बारा पर्साका उद्योगी व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार विभागले राजस्व बढाउने नाममा आयातकर्तामाथि ज्यादती गरेको आरोप लगाएको छ ।  विगत ३ महीनायता चीनबाट लाइटर आयात उल्लेख्य रूपमा बढेपछि यसमा भन्सारको आँखा लागेको गुनासो आयातकर्ताको छ । यसअघि प्रतिकार्टोन ४० अमेरिकी डलरमा भित्रिइरहेको लाइटरको मूल्यांकन भन्सार विभागले ६० डलर तोकेर मङ्सिर १५ गते मातहतका भन्सार कार्यालयलाई पत्राचार गरेको थियो । यसअघिकै मूल्यांकन वास्तविक मूल्यभन्दा २ डलरले बढी रहेको दाबी गर्ने व्यापारी ५० प्रतिशत मूल्यांकन बढाएपछि आक्रोशित भएका हुन् । भन्सारले प्रत्येक ३ महीनामा ५ हजारभन्दा बढी वस्तुको मूल्य पुनरवलोकन गर्दै आएकोमा लाइटरको मूल्यांकनमात्र बढाउनु विभागको बदनियत भएको आयातकर्ता ओमप्रकाश मोरले बताए ।  विगतमा मूल्यांकन बढाउँदा निर्णयअघिका सिपमेन्ट र एलसीमा पुरानै मूल्यांकन लागू हुनेमा भन्सारले लाइटरमा त्यही दिनदेखि बढाइएको मूल्यांकन लागू गरेको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेका केही कन्टेनर लाइटर आयातकर्ताले छुटाएका छैनन् ।  नयाँ मूल्यांकन लागू हुँदा ठूलो परिमाणमा जरीवाना तिर्नुपर्ने भएपछि आयातकर्ताले सामान नछुटाएका हुन् । भन्सारले आयातकर्ताले पेश गरेको बिलभन्दा बढी हुने रकममा लाग्ने राजस्वमा ५० प्रतिशत जरीवाना असुल्ने गरेको संघका अध्यक्ष अनिल अग्रवालले बताए ।   विरोधमा उत्रिए वीरगञ्जका व्यापारी  राजस्व बढाउन ज्यादती गरेको आरोप भन्सार विभागको पत्रमा निर्णयअघि प्रक्रियामा गइसकेका कन्साइन्मेन्टलाई कुन मूल्य आधार मान्ने भन्ने उल्लेख नभएकाले सबैलाई नयाँ मूल्यांकन लागू हुने सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए ।  मूल्यांकन बढाउनुअघि एलसी खुलिसकेका र बाटोमै रहेका कन्साइन्मेन्टमा बढेको मूल्यांकन भिडाएर जरीवाना तिराइनु आपत्तिजनक भएको अध्यक्ष अग्रवाल बताउँछन् ।  बढेको मूल्यांकनका आधारमा प्रतिकन्टेनर जरीवानामात्रै ३ लाख रुपैयाँ तिर्नुपर्ने आयातकर्ता नवनीत अग्रवालले बताए । सरकारलाई राजस्व नै चाहिएको हो भने भन्सार महशुल बढाएको भए हुन्थ्यो । तर, मूल्यांकन बढाएर व्यापार नै अप्ठ्यारोमा पार्ने काम भयो,’ उनले भने ।  अहिले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा ३५ कन्टेनर लाइटर रोकिएको र त्यत्ति नै संख्यामा बाटोमा रहेको जानकारी आएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘भन्सारले मूल्यांकन अस्वाभाविक रूपमा बढाएकाले लाइटर जाँचपास गराउन नसकी भन्सार यार्डमै अनलोड गराउनुपरेको छ,’ उनले भने ।  आयातित लाइटर भारततर्फ अवैध रूपमा निकासी हुने भएकाले मूल्यांकन बढाइएको तर्क भन्सारका अधिकारीको छ । भन्सार अधिकारीको यो तर्कमा व्यापारीले आपत्ति जनाएका छन् ।  भारतले स्वदेशी लाइटर प्रवर्द्धनका लागि आयातमा प्रतिबन्ध लगाएको छ । भारतमा यस्ता लाइटरको माग बढेपछि चीनबाट नेपालमा ठूलो परिमाणमा लाइटर भित्रिएको हो । तेस्रो मुलुकबाट भित्रिएको लाइटर यहाँका व्यापारीले भारतीय बजारमा पुर्‍याउने गरेका छन् ।  पत्रकार सम्मेलनमा संघका अध्यक्ष अग्रवालले निजीक्षेत्र भन्सार मूल्यांकन पारदर्शी बनाउनुपर्ने पक्षमा रहे पनि सरकारी पक्षबाट अनेक समस्या सृजना गर्ने काम भएको गुनासो गरे । व्यापार खस्किएको अहिलेको अवस्थामा व्यावसायिक गतिविधिलाई सहज बनाउनुपर्नेमा आयातमा अव्यावहारिक नियन्त्रणले समस्या सृजना भएको उनले बताए ।  सरकारको अव्यावहारिक आयात नीतिकै कारण केराउ, मरिच, छोकडा, काजुलगायतको अवैध आयात भइरहेको उपाध्यक्ष राजपालले दाबी गरे । अवैध आयात हुने वस्तुमा भन्सारमा लिइने कुल राजस्व भारतमा लिइने वस्तु तथा सेवा कर (जीएसटी)बराबर भए अवैध आयात स्वत: बन्द हुने पनि उनले बताए ।