अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक
दाङको घोराही उपमहानगरपालिका–५ धारापानी स्थित १३३८० किलो पञ्चधातुबाट निर्मित ५५.५ फिट अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक । तस्बिर : कारोबार
विराटनगर । विश्वकै अग्लो शिखर सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकवल भएर पनि सगरमाथासम्म जाने सजिलो बाटोको प्रबन्ध हुन नसक्दा प्रदेश नम्बर १ पर्यटकीय क्षेत्रमा अलिपछि नै छ ।
भौतिक पूर्वाधारको विकासमा अग्रणी भनिए पनि यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूका बारेमा धेरैलाई थाहा नहुन सक्छ । काठमाडौंबाट हवाइ यात्रापछि विराटनगरमा ओर्लिएर कहाँ जाने, कस्तो ठाउँ जाने जस्ता अनेक प्रश्नले जोकोहीलाई पनि अन्योलमा पार्ने गर्छ ।
पर्यटन उद्योगका लागि पूर्व ‘भर्जिन’ नै मानिन्छ । विराटनगरबाट पूर्वका पर्यटकीय स्थल पुग्न खासै गाह्रो छैन । यस क्षेत्रका व्यवसायी, प्रदेश सरकार र स्थानीय तहले पर्यटन विकासका लागि प्याकेज बनाएर जान सके यस प्रदेशले मुलुकमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सक्छ । इलाम, धनकुटालगायतका पहाडी जिल्लाहरू कृषि पर्यटनका लागि अगाडि छन्भने ताप्लेजुङ, सुनसरी, खोटाङलगायतका जिल्लाहरू धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायतका जिल्ला जैविक विविधताका लागि अग्रपंक्तिमा छन् ।
पूर्वका केही प्रमुख पर्यटकीय गन्तव्यहरू
विराट राजाको दरबार
विराटनगर–२० बुधनगर भेडियारीमा महाभारतकालीन विराट राजाको दरबार रहेको छ । यस क्षेत्रमा जानका लागि निजी सवारी साधन प्रयोग गर्नुपर्छ वा पैदल जानुपर्ने हुन्छ ।
विराटराजाको दरबार करिब अढाई किलोमीटरको क्षेत्रमा फैलिएर रहेको छ । हाल यस दरबार क्षेत्रको संरक्षणका लागि तार घेराबेरा गरी पाँच कठ्ठा क्षेत्र संरक्षित रूपमा राखिएको छ । त्यहाँ भेटिएका पुरातात्त्विक वस्तुहरू हाल स्थानीय कमलकिशोर यादवको घरमा राखिएको छ ।
राजारानी धिमाल पोखरी
विराटनगरदेखि करिब ५० किमी उत्तरपूर्वमा पर्ने राजारानी क्षेत्र पुग्न पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारदेखि करीब ९ किमी उत्तर लेटाङ गाविसको बुधवारे हुँदै चिसाङ खोला किनारबाट करीब एक घण्टाको उकालो चढ्नुपर्छ । ठाडो उकालो पार गर्दा धोबीडाँडा गाउँ पुगिन्छ । यसको पश्चिम राजारानी धिमाल पोखरी छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झैँ देखिने राजारानी क्षेत्रमा तीनवटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुई मन्दिर छन् ।
पूर्व नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाइ महिनासम्म मान्ने ढङढङे (असारे) मेला हरेक वर्षको वैशाख २ गते पोखरीस्थित धिमाल ग्रामथानमा पूजा गरेपछि शुरू हुन्छ । किम्बदन्तीअनुसार यस क्षेत्रमा कुनै बेला सत्य राजा र सत्य रानीले राज्य गरेका थिए ।
यहाँका राजाले विराट राजासँग लडाइँ गर्न जाँदा सेतो र कालो परेवा लिएर गएका थिए । सेतो परेवा फर्केर आएमा जित र कालो परेवा आएमा हार हुन्छ भनेर राजा लडाइँमा गए । परेवा बोकेको सिपाहीले बाटोमा चारो खुवाउन लाग्दा कालो परेवा उडेर आएपछि रानीले हार भएको ठानिन् । विलाप गरी जलेर मर्न लागिन् । उनी जल्दाजल्दै राजा फर्किएर आए तर रानी बाँच्न नसकेकाले राजाले पनि त्यही स्थानमा देहत्याग गरे । त्यसैले राजारानीको नाम सत्यराजा सत्यरानी रहेको भन्ने विश्वास धिमाल समुदायमा पाइन्छ ।
कोशीटप्पु
कोशीटप्पु विराटनगरबाट ५० किलोमीटर पश्चिममा पर्छ । कोशीटप्पुलाई चराको स्वर्ग पनि भनिन्छ । कोशीटप्पुमा ५ सय २७ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये आधाभन्दा बढी कोशीटप्पुमा पाइन्छन् । विश्वमै दुर्लभ मानिने चराहरूको वासस्थान पनि कोशीटप्पु हो ।
कोशीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । यहाँ विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । अहिले कोशीटप्पुमा चार सय ४१ वटा अर्ना रहेका छन् । यहाँ होमस्टे, रिसोर्ट र होटलहरू बस्नका लागि उपलब्ध छन् ।
वराह क्षेत्र
कोका नदी र कोशी नदीको संगम स्थल सुनसरी जिल्लाको वराह क्षेत्र गाविसमा पर्ने यो धार्मिक स्थल पूर्वकै सबैभन्दा पुरानो मानिन्छ । यहाँ इन्द्र, वराह, कोकाह, सूर्य, बद्री, मुक्तेश्वर, लगायतका १० वटा मन्दिर छन् ।
हिन्दूहरूका देवता पहाड, गुफा, रुख तथा नदी किनार जस्ता असजिला स्थानमा बस्छन् भन्ने भनाइ अनुसार नै यहाँ यी देवता बसेको विश्वास गरिन्छ । यहाँ मुख्य रूपमा विष्णुको वराह अवतारको पूजा हुने गर्छ ।
विराटनगरबाट इटहरी, झुम्का हुँदै वराह क्षेत्र पुग्न करीब ५० किमी लामो यात्रा गर्नुपर्छ । वराह क्षेत्रबाट २६ किलोमीटर दक्षिणमा पर्ने सुनसरीकै साविक सिंघिया गाविसमा रामधुनी छ । यो पनि प्रसिद्व धार्मिक स्थल हो ।
विजयपुर
धरान नगरपालिकामा पर्ने विजयपुर क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । यहाँ बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या लगायतका मन्दिरहरू रहेका छन् । यातायातको राम्रो पहुँच भएको र बजार क्षेत्र आसपासमा भएकाले यहाँ जान सजिलो छ ।
विजयपुरमा अवस्थित बुढा सुब्बा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ । यहाँ युवायुवतीहरूले सफल प्रेमका लागि कामना गर्ने गरेको पाइन्छ । यसैगरी यहाँ दन्तकाली मन्दिर प्रसिद्ध छ । शिवजीले सतीदेवीलाई बोकेर हिँड्दा यो स्थानमा दाँत पतन भएको मानिन्छ ।
यसैगरी यहीँ रहेको पिण्डेश्वर मन्दिर पनि प्रख्यात छ । यहाँ शिवजीको पूजा हुन्छ । साउन महिनाको सोमवारका दिनहरूमा बोलबम यात्रा लाग्ने गर्छ । सेन राजाहरूले विजयपुरमा राज्य गरेको इतिहास पाइन्छ ।
भेडेटार
समुद्री सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमीटर उत्तरमा अवस्थित छ ।
भेडेटारप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो छ । अरुण उपत्यकाको प्रवेशद्वार धनकुटा जिल्लामा पर्ने भेडेटारमा जो पुग्छ उसले भेडेटारलाई स्वर्गको एक टुक्राको संज्ञा दिन्छ । बेलायती युवराज चाल्र्सलाई नेपालको कुनै ठाउँको सम्झना छ भने त्यो भेडेटार नै हुनु पर्दछ । उनी चढेपछि त्यसको नाम चाल्र्स प्वाइन्ट रह्यो । यहाँ अहिले तीनतले भ्यूटावर छ । त्यहाँबाट तराईका सम्म फाँटका साथै हिमालका शृंखलाहरूलाई समेत एकैपटक देख्न सकिन्छ ।
छिन्ताङ
छिन्ताङ धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ राजनीतिक रूपमा पनि उत्तिकै छ । धनकुटा सदरमुकामबाट १३ किलोमीटर उत्तरमा पर्ने रमणीय हिले बजारबाट उत्तरपानी हुँदै आँखीसल्लाबाट छिन्ताङ पुग्नका लागि यातायातका साधन उपलब्ध छन्।
कुनै आपत् पर्दा वा राम्रो कुरा पाउनका लागि छिन्ताङदेवीको नाममा भाकल गर्नेहरू दर्शन गर्न त्यहाँ जान्छन् । दिउँसो चार बजेपछि मात्र मन्दिरको ढोका खुल्छ । रुखको फेदमा रहेको देवीथानलाई नै मन्दिरको मुख्य स्थान मानिन्छ । यहाँ राँगा, बोका, कुखुरा, परेवा, हाँसको वलि चढाउने गरिन्छ ।
२०३६ साल कात्तिक २७ देखि २९ गतेसम्म तत्कालीन शासकहरूले धनकुटा जिल्लाका साविक खोकु छिन्ताङ र आँखीसल्ला गाविसमा नरसंहार मच्चाए र १५ जना गाउँलेहरूको ज्यान लिए । छिन्ताङ काण्डका नाममा यो ठाउँ चर्चित छ ।
गुफापोखरी
धनकुटाबाट करीब ५० किलोमीटरको कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्म ५ किमी कच्ची सडकको यात्रा गरेपछि झण्डै ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा तय गरेर गुफापोखरी पुगिन्छ । मूलतः यहाँ विभिन्न प्रजातिका गुराँस तथा जैविक विविधतालाई अवलोकन गर्न जानेहरूको संख्या बढी पाइन्छ । संखुवासभाको नुनढाकी–९ मा अवस्थित यो गुफापोखरी समुद्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाइमा रहेको छ ।
अधिक हिमपात हुने गुफापोखरीमा पुस र माघ महिना हिउँ खेल्न उपयुक्त मानिन्छ । गुफापोखरी जोड्ने मोटरबाटो निर्माण द्रुतगतिमा भइरहेकाले १–२ वर्षमा गाडी चढेर यहाँ पुग्न सकिनेछ ।
तीनजुरे मिल्के जलजले
विराटनगरबाट उत्तरतर्फ धरान हुँदै १३० किलोमीटरको बस यात्रापछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । बजारको शिरमा अवस्थित तीनजुरे मिल्के जलजल क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्छ ।
तीनजुरे, पाँचपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदल यात्रा गर्नु साँच्चै रमाइलो हुन्छ । यहाँ आएका पर्यटकहरूका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफाबजारमा वास बस्न र खाना खानाका लागि राम्रो व्यवस्था रहेको छ । वसन्तपुर, चौकी र गुफा बजारमा प्रहरी चौकी रहेकाले सुरक्षाको समेत राम्रो व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा फैलिएको छ । समुद्री सतहबाट १७ सयदेखि ५ हजार मीटरसम्मको उचाइमा रहेको यो करीब ५ सय ५८ वर्ग किलोमीटरमा फैलिएको छ ।
जैविक विविधताको खानी यो क्षेत्रको उत्तर पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्र र उत्तर पश्चिमतर्फ मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्दछन् । गुराँसका २८ भन्दा बढी प्रजाति पाइने भएकाले गुराँसको राजधानीको रूपमा यो क्षेत्र परिचित छ ।
ह्यातुङ झरना
तेह्रथुमका साविक सम्दु र इसिवु गाविसका बीचमा रहेको यो झरना एसियाकै सबैभन्दा अग्लो झरना मानिन्छ । यो झरनासम्म पुग्न धरानबाट वसन्तपुर हँुदै तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्नुपर्छ र त्यहाँबाट एक दिन पैदल हिँड्नु पर्छ । यो झरनाको माथिबाट पानी खस्दा सप्तरङ्गी इन्दे्रणीको रमणीय दृश्य देखिन्छ ।
हलेसी महादेव
पूर्वकै प्रसिद्व धार्मिक स्थलका रूपमा चिनिएको हलेसी महादेवको मन्दिर खोटाङ जिल्लामा अवस्थित छ । हिन्दू, बौद्ध तथा किरातहरूको आस्थाको केन्द्रका रूपमा यो ठाउँ रहेको छ । बालाचतुर्दशी, रामनवमी र शिवरात्रि गरी वर्षमा तीनपटक मेला लाग्छ । जिल्ला सदरमुकाम दिक्तेलदेखि ४० किलोमीटर पश्चिममा रहेको यो मन्दिर पुग्न सवारी साधन उपलब्ध छ ।
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ मा डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ ।
सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् ।
पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष आठ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष विहीसरा थापा पुलामीले जानकारी दिइन् ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ ।
२०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताए । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरूले चाख्न पाउँछन् ।
प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाका लागि प्याकेजमा एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहो¥याएर जाने गरेको बताइएको छ । रासस
मंसिर १९, कास्की । पोखरामा पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेश शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।
४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकको प्रबर्द्धन गर्नका लागि ५२ फिट अग्लो शिवमुर्ति सहितका अन्य संरचना निर्माण गरिएको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा विशाल महादेव शिवको मुर्ति निर्माको काम अन्तिम चरणमा पुगेको छ ।
उत्तरतर्फ आकासलाई क्षितिज बनाए चाँदीका घेरा जस्तै सामुन्ने टल्किएका हिम श्रृंखलासँगै अंकमाल गरेको सराङ्कोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ पर्यटक पुग्न थालेका छन् । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको यस पुम्दीकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत शुरु भइसकेको छ ।
पर्वत फलेवास घर भई हाल पोखरा–५ मालेपाटन बस्ने पदम शर्मा फुर्सदको समयमा मूर्ति निर्माणस्थल पुम्दीकोटमा पुग्ने गरेको बताउँछन् । ‘फुर्सदको समयमा परिवारसहित रमाइलोका लागि यहाँ आउने गरेको छु, त्यहाँ आएपछि सारा थकान मेटिएको अनुभूति हुन्छ,’ उनले भने,’ ‘मन चंगाभए पछि छुट्टै रमाइलोको प्रत्याभूति हुन्छ, मुस्कुराएका हिम श्रीङ्खलासँगै पोखरा बजार लगायतका अन्य ठाउँ हेर्न पाइने भएकाले कामको तनाबलाई समेत बिर्साइ दिन्छ ।’
पर्यटकीय सम्भावना बोकेको भएरपनि आवस्यक भौतिक संरचना निर्माण र पर्यटन प्रबर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।
आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयमा पर्यटकको आकर्षक केन्द्र बन्ने आशा पलाएको छ ।
पोखरा भन्दा उच्च भागमा रहेको यस ठाउँलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ ।
गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना मुर्ति निर्माण स्थलको ९५ प्रतिशत काम सकिएको महादेव मुर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा निर्माण गरिएको पूर्वाधार निर्माणमा हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।
त्यस ठाउँमा मुर्तिका लागि स्थानियहरुले महायज्ञ लगाएर ८ करोड रुपैयाँ संकलन गरेका थिए । भारतीय कालिगडले मथुरामा बनाएको करीब ६ टन तौल बराबरको मुर्ति जडानसँगै यसलाइ आकर्षक बनाउनका लागि अहिले दैनिकरुपमा २० जना कामदार खटिएका छन् ।
गत वर्ष झण्डै एकमहीना लगाएर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मुर्ति जडान गरिएको थियो ।
विशाल महादेवको मुर्ति, भुमेश्वर महादेवको मुर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन् ।
२१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिवलिङ्ग बनाएर मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरि निर्माण गरिएको छ । मुर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुने छ। त्यसभन्दा भित्रको साइडबाट अपाङ्ग तथा बृद्धबृद्धामैत्री बाटो समेत निर्माण गरिने छ ।
स्थानीय उत्पादनको विक्री गर्नका लागि सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धाराहरु सहित बालबालिका भुल्नको लागि खेल्ने थप संरचना बनाइने छ ।
त्यसैगरी अन्य संरचनामा स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण हुनेछन् । मुर्ति निर्माण समितिले प्रवेश स्थल अगाडीको स्थानमा पार्किङस्थल बनाउने योजना समेत बनाएको छ ।
मुर्ति निर्माणसहितका भौतिक संरचना निर्माण भएपछि पुम्दीकोटको पर्यटन विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।
पोखराबाट नजिकै भएपनि आवस्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमश पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको स्थानीय गुरुदत्त बरालले बताए ।
उनले मुर्ति निर्माणसँगै आन्तरिक पर्यटक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल, रेष्टुरेण्ट लगायतका अन्य व्यापार व्यावसाय समेत बढेको बताए । ‘मुर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि खोलीएका ब्यवसाय फष्टाएका छन््,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यावसाय गर्न चाहने हरुको संख्या समेत बढिरहेको छ ।’
मुर्ति निर्माण भएपछि पर्यटको चहलपहल बढेपछि व्यावसाय र रोजगारीका लागि गाउँ छाडेर सहर पसेका युवाहरु गाउँमा फर्किएका व्यापार व्यावसाय शुरु गरेको बरालले बताए ।
मुर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो । त्यसैगरी स्थानीयहरुले २० रोपनी जग्गादान गरेका थिए । मुर्तिसहित संरचना निर्माणका लागि लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिम श्रृखलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरुको समेत अवलोकन गर्न सकिन्छ ।
मंसिर ९, म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदीझै सेता टलक्क टल्केका हिमशंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी ।
हरिया बगैँचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ ।
आसपासमा देखिने हिमशृंखला, चौतर्फी देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यस ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको हो ।
प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको संख्यामा आउने प्रेमजोडी यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस संक्रमणका डरले साउन महीनासम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज गुल्जार हुन थालेको छ ।
बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीका कारण हिजोआज आकर्षणको केन्द्र बन्दै जान थालेको छ ।
पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो तर अहिले कोरोना संक्रमणको दर केही कम भएकाले यहाँ रौनक शुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए ।
आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ भने विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजार आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल पनि बनेको छ । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ ।
लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धवलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय समेत यहाँबाट अवलोकन गर्न पाइन्छ ।
बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्य अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार हुनाका साथै नयाँ बस्ती बढ्ने सम्भावना छ ।
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि बृद्धबृद्धा रमाउने स्थलका रूपमा विकसित भइरहेको छ ।
यस क्षेत्रमा खान र बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ । रासस
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताए ।
जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा उद्यानलाई विकास गरिएको छहरा –४ वडाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका लागि उपयुक्त रहेको बताइएको छ । पछिल्लो समय कोरोना संक्रमणले आन्तरिक पर्यटकमा कमी देखिएको छ । आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता समेत रहेका पोखरेलले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारी दिए । २ वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालू आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ । उनका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताए । गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामै अगाडि रहेको र तरकारी तथा सुन्तला करोड रुपैयाँभन्दा बढीको निकासी हुँदै आएको उनले जानकारी दिए ।
लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ । यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए । रासस