नुवाकोटको ककनी गाउँपालिकास्थित एक विद्युत पोलमा चढेर तारैतार हिडेका ४४ वर्षका माइला विकको झण्डै ७ घण्टापछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।मानसिक सन्तुलन ठिक नभएका माइलालाई शनिबार बिहान करिब ११ बजेतिर स्थानीयले बिजुलीको पोलमा चढेको देखेका थिए । उनीहरुले तल झर्न अनुरोध गर्दा पनि नमानेपछि प्रशासनलाई खबर गरेका थिए । उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको विद्युत् प्रवाह बन्द गरिएको थियो ।उनलाई बिशेष सावधानीका साथ नेपाली सेनाको हेलिकप्टरमार्फत तल झारीएको हो । सेनाको ४ जनाको टोली हेलिकप्टर लिएर त्यहाँ पुगेको थियो ।ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युतको हाइटेन्सन लाइनको तारमा उनी तारमा झुण्डिएका थिए । बेलकोटगढी नगरपालिका– १३ घलेगाउँका ४४ वर्षीय उनको मानसिक अवस्था असन्तुलन रहेको स्थानीयवासीले जनाएका छन् । स्थानीय हरि गुरुवाचार्यले फेसबुकमार्फत फोटो र भिडिओ सार्वजनिक गरेपछि अहिले सर्वत्र यो विषयको चासो छ ।