काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ ।
७ सिट क्षमताको यो गाडीमा आरामदायी र उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीले बताएको छ । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीको भनाइ छ । ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित रहेको छ । नेपाल पनि यस्तै वनस्पतिले भरिपूर्ण भएकाले नयाँ सफारी सुहाउँदो रहेको कम्पनीले बताएको छ ।
सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का सोरुममार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइनेछ ।
‘एसयूभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीको तीन आधारस्तम्भ हुन् । नेपालमा पनि यो गाडी रोजमाइमा पर्ने विश्वास छ,’ टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस प्रमुख मायांक बाल्डले भने ।
ओमेगा आर्किटेक्चरमा तयार पारिएको यो गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । भारतमा ६ महिने अवधिमै १० हजार थानभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।
‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोसेढुंगा हो । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यो गाडीले एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा छ,’ सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने ।
कम्पनीले नयाँ टाटा सफारीको सुरु मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।