माघ २६, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार एउटा सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने छन् । दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् ।
सरकारी स्वामित्वमा सञ्चालित उक्त उद्योग विगत डेढ महीनादेखि महाप्रबन्धकविहीन छ । तत्कालिन महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन थियो ।
गत पुसमा सिंहको कार्यकाल सकिएको भए पनि यसअघि नियुक्ति प्रक्रिया अगाडि बढन् नसक्दा उद्योगको काम लथालिंंग हुनुका साथै हाल उद्योगको सिमेन्ट उत्पादन र विक्रीसमेत ठप्प भएको बताइएको छ ।
यो पनि हेर्नुस् :
हेटौंडा सिमेन्ट डेढ महीनादेखि महाप्रबन्धकविहीन, उद्योगको काम लथालिंग