पुस २१, काठमाडौं। अरुण - ३ जलविद्युत् आयोजनाले निर्माण गरिरहेको डिडिङ-ढल्केवर-बथनाह ४०० केभी प्रसारण लाइनको निर्माणले गति लिएको छ।
अरुण तेस्रोबाट उत्पादन हुने ९०० मेगावाट विद्युत् भारत लैजानको लागि आयोजनाले २१७ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ।
भारतीय सरकारी स्वामित्वको कम्पनी सतलजले ९०० मेगावाटको विद्युत् आयोजना सँगै यो प्रसारणलाइन पनि निर्माण गरिरहेको हो। विद्युत् आयोजनाको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ भने प्रसारणलाइनतर्फ पनि ३० प्रतिशत काम सम्पन्न भएको आयोजनाको सहजकर्ता लगानी बोर्डले बताएको छ।
यो प्रसारणलाइनको दायाँ-बायाँ दुवैतर्फ २१-२१ मिटर 'राइट अफ वे' छोडिने छ। आयोजनाका लागि धनुषा, महोत्तरी र भोजपुरमा जग्गा अधिग्रहणको काम कतै पुरा भएको छ भने कतै शुरु भएको छ।
अन्तरदेशिय यो प्रसारणलाइनमा नेपालतर्फको २१७ किमीमा मात्रै ४५० ओटा टावर निर्माण हुनेछन्। त्यसमध्ये धनुषा, महोत्तरी लगायतका ठाउँमा १०० भन्दा बढी टावरको फाउन्डेसन बनाउने काम पूरा भएको छ।
संखुवासभादेखि धनुषासम्म ७ ओटा जिल्ला पार गर्दै भारतमा समेत निर्माण हुने यो अन्तरदेशीय प्रसारण लाइन नबनेसम्म उत्पादित विद्युत भारत निकासी गर्न सम्भव नभएकाले आयोजनाले विद्युत उत्पादन सँगसँगै प्रसारणलाइन आयोजना पनि सम्पन्न गर्ने लक्ष्य राखेको छ।
सन् २०२५ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि आयोजनाले दैनिक ३ हजार कामदारलाई ३ चरणमा काम लगाएर तोकिएको समयभन्दा २ वर्ष अघिनै सम्पन्न गर्ने बताएको छ। यसकारण यो प्रसारणलाइन पनि सन् २०२३ भित्रै पूरा गर्नैपर्ने छ।
यो प्रसारण लाइनमा कोशी करिडोरमा पर्ने अन्य आयोजनाबाट उत्पादित विद्युतको पूर्वदेखि पश्चिमसम्मको आन्तरिक प्रसारण राजमार्गको मुख्य अंश बनाउँदै ती आयोजनाको विद्युत् भारत निकासी गर्नका लागि समेत नेपालका लागि महत्त्वपूर्ण मानिएको छ।
आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउने छ। उक्त विद्युत् नेपालमा खपत नहुने अवस्थामा सोझै भारतलाई नै विक्री गर्न सकिने विद्युत् प्राधिकरणले बताउँदै आएको छ। प्रवर्द्धक कम्पनीले २५ वर्षपछि उक्त आयोजनाको सबै संरचनाहरु चालू अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ।