भदौ १८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।
यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गरेका हुन् । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३, नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ ।
यी शेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।