निगमलाई आईओसीको नयाँ मूल्य सूची : पेट्रोल लिटरमा १.४८ रुपैयाँ घट्दा ग्यास २७३ रुपैयाँ बढ्यो

चैत १८, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचिमा पेट्रोलको मूल्य लिटरमा १ दशमलव ४८ रुपैयाँ घटेको छ । तर ग्यासको मूल्य भने प्रतिसिलिण्डर २७३ दशमलव ३८ रुपैयाँ बढेर आउँदा निगमको घाटा भने घट्ने छैन । निगमले पछिल्लो पटक चैत २ मा मूल्य समायोजन गरेको थियो। नयाँ मूल्य अनुसार डिजेलमा झिनो मूल्य बृद्धी भएको छ। तर, मट्टितेतमा २२ दशमलब १९ रुपैपाँ, हवाई इन्धनमा ४ दशमलब २३ रुपैयाँ बढेको तथा एलपी ग्यासमा प्रति सिलिण्डर २७३ दशमलब ३८ रुपैयाँ थप बढेर आएको हो । पेट्रोलमा भने प्रति लिटर १ रुपैयाँ ४८ पैसाले मूल्य घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार निगमलाई आगामी १५ दिनमा करीव ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने देखिएको छ । चालू आर्थिक वर्षमा निगमले करीब ३२ अर्व नोक्सानी व्यहोरी सकेको छ । पछिल्लो मूल्य सूचीपछि निगमलाई प्रति महीना करीब १० अर्व रुपैयाँ भन्दा बढी नोक्सानी हुने स्थिति छ । निगमको सञ्चिती रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पनि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा ईन्धन विकीबाट प्राप्त रकम संकलन गरी ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ । हाल निगमको विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको छ । निगमले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई अत्यन्त कठिन भएको बताउँदै आएको छ ।