स्वयम्भूनाथको गजुरको जीर्णोद्वार शुरु [फोटो फिचर]

काठमाडौं । विश्व सम्पदामा सूचीकृत काठमाडौं-१५ स्थित स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार शुरु गरिएको छ । गत फागुनमा हावाहुरीका कारण चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार शुरु गरिएको हो । यसको जीर्णोद्वारका लागि पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । प्राचीन सम्पदा भएकाले पुरातत्त्व विभागको परामर्श तथा अनुमतिप्राप्त भएपछि मात्र जीर्णोद्वार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिए । मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विशेष विधिअनुसार क्षमापूजा गरी गजुर पुनः प्रतिस्थापन गरिने जनाइएको छ । यस पवित्र स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकहरूमाझ स्वयम्भू 'मन्की टेम्पल'को नामले प्रख्यात छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान