कात्तिक १३, काभ्रेपलाञ्चोक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ ।
संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा विक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गर्दै आएको हो ।
विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रू. १५ लाखको कारोबार गर्दै आएको जानकारी दिइएको छ ।
यसरी उत्पादित सामग्री काठमाडौंस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा विक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए ।
उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध संकलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध संकलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।
केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध संकलन गरिँदै आइएको छ ।
‘दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ’, केन्द्र प्रमुख प्रकाश केसीले भने । उनका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरीद गर्ने गरेका छन् ।
केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाईभैँसी पाल्ने कृषकको संख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । ‘यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाईभैँसी पाल्दै आएका छन्’, उनले भने । उनका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पुर्याइरहेको छ ।
११ रोपनी जमिनमा अवस्थित केन्द्रका ६ ओटा भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवम् पुनर्निर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए । रासस