क्लीन फिड लागू भएको १ वर्ष बितिसक्दा अपेक्षाअनुरूप धेरै प्रगति भइसक्नुपर्ने थियो । धेरै लामो अभ्यासपश्चात् कार्यान्वयनमा आएको क्लीन फिडले विज्ञापन क्षेत्र मात्र नभएर एउटा ठूलो आर्थिक क्षेत्रमा लाभ हुने अपेक्षा गरिएको थियो । विज्ञापन बजारको बिस्तार, राजस्वमा वृद्धि, विज्ञापन क्षेत्रमा विभिन्न रोजागरीको अवसर, स्वदेशी उत्पादित वस्तुको प्रवद्र्धनदेखि नेपाली संस्कृतिको प्रवर्द्धनसम्मको अपेक्षा थियो । तर, यसले कुनै ठोस उपलब्धि पुष्टि गर्न सकेको छैन । अहिले भारतीय विज्ञापन नेपाली च्यानलमा प्रसारण हुँदैन, तर त्यसले कुनै प्रगति आएको देखिँदैन ।
सबै पक्षले क्लीन फिड लागू गर्न सक्नु नै अन्तिम उद्देश्य भएझैं गरे । त्यसैले यसको कार्यान्वयनपछि प्रभावचाहिँ खासै परेको देखिँदैन ।
हिजो क्लीन फिडको पक्षमा बोल्नेहरू आज मौन छन् । हिजो क्लिन फिडबाट परिवर्तन आउँछ भन्नेहरू आज कतै देखिँदैनन् । १ वर्ष बितिसक्दा कुनै परिवर्तन नदेखिँदा क्लीन फिडले उल्टो जनतालाई महँगीको शिकार बनाएको झैं मात्र देखिन्छ ।
कोरोनाकै कारण नेपाली विज्ञापनमा ६ अर्बभन्दा बढीको नोक्सान भएको तथ्यांक गतवर्ष नै प्रकाशित भइसकेको थियो । हुन त, कुल विज्ञापन बजार कत्रो छ भन्ने तथ्यांक नै अनुमानमा आधारित छ । कोरोना विपद्मा मनोरञ्जन क्षेत्र पूर्णरूपमा ठप्प रहँदा निर्माण र प्रसारणमा पनि ढिलाइ भएको थियो, जसले गर्दा विज्ञापन क्षेत्र क्लीन फिड लागू भए तापनि गति लिन सकेको थिएन । कोरोनाको प्रभाव कम हुँदै जाँदा अन्य क्षेत्रले जुन गति लिन सक्यो, विज्ञापन बजारले लिन सकेको छैन ।
भारतमा पब्जीमा रोकावट ल्याइयो । भारतमै निर्मित सोही प्रकृतिको अनलाइन खेल एफएयूजीलाई प्रवर्द्धन गर्ने हेतुले गरिएको उक्त निर्णयले गर्दा भारतका पब्जी प्रेमीहरू चिनिया अनलाइन खेलप्रति आकर्षित भए । पब्जी रोकावट भए तापनि भारतमा निर्मित उक्त खेल निकै पछि मात्र सञ्चालनमा आयो । यदि एफएयूजी सञ्चालनपश्चात् मात्र पब्जीमा रोक लगाइएको भए शायद भारतीय खेल प्रेमीले चिनियाँ खेल खेल्ने थिएनन् । त्यस्तै नेपालमा क्लीन फिड लागू गर्नुअघि पूर्वतयारी कुनै पक्षले गर्न सकेका थिएनन् । सबै पक्षले क्लीन फिड लागू गर्न सक्नु नै अन्तिम उद्देश्य भएझैं गरे । क्लीन फिड लागू भएपश्चात् केही मात्र विज्ञापन नेपालमै निर्मित भए तापनि त्यो अपेक्षित दरभन्दा निकै कम थियो ।
हिन्दी च्यानलमा भारतीय विज्ञापन नआउँदा पनि त्यस समयमा अन्य सामग्री आउने गरेको भेटिन्छ, जहाँ नेपाली विज्ञापन आउनुपर्ने थियो । त्यसतर्फ कसैको ध्यान अझै गएको छैन । विज्ञापन प्रसारण गरेर टेलिभिजन महसुल खर्च घटाउन सक्नुपर्नेमा खाली समयसम्म उपयोग नहुनु वास्तवमै नेपाली पक्षकै असक्षमता हो । अझै पनि यसबारे कुनै योजना निर्माण भएको देखिँदैन ।
विसं १९५८ देखि शुरू भएको विज्ञापन बजारले नेपालमा खासै ठूलो मह्त्व राख्न भने नसकेको नै हो । क्लीन फिड लागू भइसकेको १ वर्ष बितिसक्दा पनि कुनै सुधार देख्न सकिएको छैन । यसको एउटा महत्त्वपूर्ण कारण भनेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाब र अरुचि नै हो । विज्ञापन विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूलाई नै यस क्षेत्रमा आफ्नो पेशागत यात्रा निर्माण गर्ने रहर हुँदैन । फलस्वरूप, यो स्थायीभन्दा पनि अस्थायी जागीरको रूपमा चिनिँदै आएको छ । यसको प्रमुख कारण हो : यस क्षेत्रमा काम गर्ने वातावरण नहुनु । वृत्ति विकास, तलब अन्य क्षेत्रसँग प्रतिसपर्धात्मक हुन नसक्दा शिक्षित युवाको निमित्त यो क्षेत्र आकर्षक बन्न सकेको देखिँदैन । अहिले पनि नेपालका उच्च व्यवस्थापन शिक्षा अध्यापन गराइने संस्थाका विद्यार्थीका लागि बैंक, बीमा, एनजीओ, आईएनजीओ, आफ्नै व्यवसाय प्राथमिकतामा पर्ने गरेको छ, विज्ञापन क्षेत्र कसैको पनि प्राथकितामा पर्दैन । विज्ञापन एजेन्सीमा लगानी गर्नेले ठूलो रकम बुझिरहँदा अन्य कर्मचारीहरूलाई न्यून पारिश्रमिक प्रदान गरिने यस क्षेत्रमा आजका युवा आफ्नो उद्देश्यपूर्ति नहुने स्पष्ट बुझ्छन् र आकर्षित हुँदैन ।
नियामक निकायको उदासीनताले पनि यस क्षेत्रलाई क्लीन फिडको कार्यन्वयन प्रभावकारी नभएको हो । । नेपाल विज्ञापन संघ (आन) मा कुशल नेतृत्वले स्थान नपाउँदा, आफ्नो विज्ञापन एजेन्सीको बजार बिस्तारमा मार्ग बनाउने कार्यमा मात्र केन्द्रित रह्यो । आनसँग कुनै प्रकाशित गर्न मिल्ने न त थ्यांक छ, न यसको वेबसाइट नै नियमित अद्यावधिक गरिन्छ । योजना निर्माण, नीति निर्माणमा अग्रसर भूमिका निर्वाह गर्न सक्नुपर्ने यस संगठनले कुनै विस्तारित योजना निर्माण गर्न नसक्नु र विगतमा भइरहेको धारभन्दा पृथक् केही गर्न नसक्नुले गर्दा क्लीन फिड कार्यान्वयन भएपश्चात् पनि विज्ञापन क्षेत्रले कुनै उपलब्धि हात पार्न नसकेको हो । आनले आगामी दिनमा विज्ञापन पुरस्कार वितरणबाहेक नेपालको विज्ञापन बजारलाई परिमार्जन गर्दै आजको आवश्यकताअनुरूप वैज्ञानिक र अनुशासित बनाउन सक्नुपर्छ ।
स्वदेशी उत्पादन प्रवर्दनको निमित्त यस युगमा विदेशी उत्पादनको विज्ञापनको रोकले कुनै प्रभाव पार्दैन । स्वदेशी उत्पादन आफै गुणस्तरयोग्य हुन आवश्यक छ । सोही मूल्यमा विदेशी उत्पादन गुणस्तरयोग्य भेटिन्छ भने राष्ट्रियताको नाममा कसैले कम गुणस्तरयुक्त वस्तु खरीद गर्दैन ।
सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरी क्लीन फिडको प्रभावकारिताबारे अध्ययन गरिए तापनि त्यसले केकस्तो निष्कर्ष निकाल्यो सार्वजनिक गरिएको पाइँदैन । अन्यथा, क्लीन फिडले अन्ततः ग्राहक नै मर्कामा परेको निष्कर्ष निकाल्न सक्नुपर्थ्यो । क्लीन फिड लागू गर्दा तरंग फैलिएको भारतले आज यसको प्रभावकारिताको र नेपाललाई भएको उपलब्धिबारे अर्को समाचार बनाएमा हास्यास्पद हुनुपूर्व नै क्लीन फिडको उच्च उपयोग गरेर यसबाट नेपालले लाभ लिन सक्नुपर्छ । क्लीन फिड वास्तवमै विज्ञापन क्षेत्रका लागि सुनौलो अवसर हो । तर, यसको निमित्त अवसरको उपयोग गर्न सक्नु अहिले हाम्रो निमित चुनौतीपूर्णझैं देखिएको छ । नेपालले लागू गरेको क्लीन फिड र त्यसको प्रभावकारिताबारे अध्ययन गर्दा केही फलदायी उपलब्धि झल्कन सक्नुपर्छ । यसको निमित्त सबै पक्ष मिली एकीकृत रूपमा काम गर्न आवश्यक छ ।
रेग्मी बैंकर हुन् ।