चैत २, काठमाडौं । तीन दिन देखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । गत साता १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलाको उच्च विन्दुमा पुगेको सुनको मूल्य यो साता निरन्तर घटिरहेको हो । रुस र यूक्रेन यूद्धका कारण पछिल्लो साता सुनको मागसँगै मूल्य उच्च विन्दुमा पुगेको थियो ।
नेपाली बजारमा पनि फागुनको २५ गते सुनको मूल्य अहिले सम्मकै उच्च एक लाख ५ हजार ५०० रुपैयाँमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँमा झरेको छ । मंगलवार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रपैयाँ रहेको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी १ हजार ३७० रुपैयाँ प्रतितोलाका दरले कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ प्रतितोलाका दरले कारोवार भएको थियो ।
बुधवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९१७.७९ डलर पुगेको छ । त्यसैगरी, बुधवार डलरको भाउ भने बढेको छ । बुधवारका लागि १ डलरको विक्रिदर १२२ रुपैयाँ ८८ पैसा कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि मंगलबार १ डलरको विक्रिदर १२२ रुपैयाँ ८० पैसा रहेको थियो ।