खोटाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करीब ३ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले बुधवार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरे । प्रदत्त स्वास्थ्य सामग्रीमा १० हजार एन्टिजेन किट, ५० ओटा पल्स अक्सिमिटर, ५० लिटर क्षमताका २५ ओटा अक्सिजन सिलिण्डर र १०० ओटा नजल अक्सिजल ट्युब, ७०० कोभिड गाउन सेट, ३०० जोडी कोभिड सुज कजर, ५० डेथबडी ब्याग, ३०० कोभिड फेससिल्ड, २५ लिटर ह्याण्ट सेनिटाइजर, ५०० जोडी पञ्जा, ८ हजार मास्क, ५०० केएन ९५ मास्क र ३०० सर्जिकल मास्क रहेका छन् ।
जिल्लाका दशओटै स्थानीय तहमा पु¥याउने गरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताए । ‘हामी राजनीतिक भेटघाटका क्रममा खोटाङका गाउँगाउँमा पुग्यौं, कोभिडबाट नागरिक प्रभावित भएको पायौं,’ उनले भने, ‘अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न बाध्य थिए । कतिले ज्यान गुमाउनु प¥यो । त्यसैलाई ध्यानमा राख्दै काठमाडौं पुगेका बेला स्वास्थ्य सामग्री ल्याउन पहल गरेका हौं ।’ रासस