२ करोड ७७ लाख नाघे ‘ब्रोडब्यान्ड’ इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन् । हालसम्म टेलिफोन सेवाको घनत्व १३ दशमलव ७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१ दशमलव ५५ प्रतिशत पुगेको बताइएको छ ।      प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन (ब्रोडब्यान्ड कनेक्टिभिटी)को हालसम्म ६७९ स्थानीय तह, पाँच हजार ५५४ वडा कार्यालय, पाँच हजार ३२ विद्यालय र चार हजार २७ स्वास्थ्य चौकी गरी १५ हजार ३९३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार सबै स्थानीय तह, वडा कार्यालय, विद्यालय र स्वास्थ्यचौकीसम्म इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यअनुसार ९६ दशमलव ३१ काम सम्पन्न भइसकेको छ ।      प्राकृतिक राष्ट्रिय सम्पत्तिका रूपमा रहेको फ्रिक्वेन्सीलाई पहिलोपटक आर्थिक वर्ष २०७६/७७ मा प्रतिस्पर्धाबाट एक हजार ८०० मेगाहर्ज ब्याडको फ्रिक्वेन्सी प्रदान गरिएको र त्यसको शुरूको मूल्यप्रति मेगाहर्ज तीन करोड भए पनि बोलकबोलबाट पाँच करोड ८० लाख प्रतिमेगाहर्ज पुर्‍याई राज्यको राजस्वमा ६३ प्रतिशतले वृद्धि भएको अध्यक्ष खनालको भनाइ छ । दूरसञ्चार पूर्वाधार सहप्रयोग र सोको शुल्क निर्धारणसम्बन्धी विनियमावली, २०७८, लागू गर्नुका साथै सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी निर्देशिका, २०७५ अनुसार हालसम्म एक हजार ओटा सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको छ ।      प्राधिकरणले नेपाललाई प्राप्त अप्टिकल स्टलको उपयोग गरी आफ्नो भू–उपग्रहको विकास गर्न तथा दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न भू–उपग्रह प्रक्षेपण गर्न भूउपग्रह नीतिसमेत तयार गरेको छ । सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फोरजी सेवालाई कभरेज र क्वालिटीका शर्त राखी २०२२ सम्ममा राज्यभर सेवा विस्तार गर्ने गरी शहरी क्षेत्रमा न्यूनतम २० एमबिपिएस र ग्रामीण क्षेत्रमा १० एमबिपिएस डाउनलोड स्पिड हुनुपर्ने शर्तमा फ्रिक्वेन्सी उपलब्ध गराएको अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणले हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्र्याकिङ गर्न अनलाइन ट्र्याकिङ सिस्टम पनि प्रयोगमा ल्याएको छ । प्राधिकरणले लोकेसन ट्र्याकिङ सेवा खुला गर्न दूरसञ्चार नियमावली, २०५४ को अनुसूचीमा थप गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष सिफारिस गरेको छ । चालू आर्थिक वर्षभित्र राज्यका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालय, नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था आदिमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने प्राधिकरणको उद्देश्य छ । रासस

सम्बन्धित सामग्री

दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता

२३ माघ, काठमाडौं । विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मंसिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरु एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ता’का गणना गरिएको छ । २०७६ मंसिरमा २ करोड १३ […]

जनसंख्याको ८८ प्रतिशतमा इन्टरनेटको पहुँच

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड ६३ लाखभन्दा बढी पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महीनाको तथ्यांकले कुल २ करोड ६३ लाख ५६ हजार जनाभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाएको छ, जुन जनसंख्याको ८८ दशमलव २१ प्रतिशत हो । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०)को आधारमा प्रतिवेदन तयार पारेको हो । सो अनुसार प्रतिवेदन बनाउँदा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजारलाई आधार मानिएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । इन्टरनेटमा सबैभन्दा धेरै योगदान मोबाइल डेटाको रहेको छ, जसको हिस्सा ६४ दशमलव शून्य ८ प्रतिशत छ । १ करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको छ, जसमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका ९० लाख ९४ हजार र एनसेलका २४ लाख ७० हजार प्रयोगकर्ता रहेको उल्लेख छ । गत माघसम्ममा मोबाइल इन्टरनेटका प्रयोगकर्ता १ करोड १३ लाख ५१ हजार रहेका थिए । त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका छन् । ८ महीनामा एनसेलका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेका छन् । माघको तुलनामा फागुनमा कम्पनीको फोरजी इन्टरनेट प्रयोगकर्ता ५ लाख ३० हजार ८०६ जना बढेका हुन् । यस्तै सोही अवधिमा नेपाल टेलिकमको फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जना बढेका हुन् । यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेका छन् । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । सोही अवधिमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ८ लाख १२ हजार र एफटीटीएच इन्टरनेटका ५९ लाख ४२ हजारभन्दा बढी छन् । रासस

नेपालमा साढे २ करोड ६३ लाखभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं। नेपालमा दुईकरोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७÷७८को पहिलो आठ महिनाको रिपोर्टमा उक्त संख्याको पहुँचमा इन्टरनेट पुगेको देखिएको हो। २०७७ माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन्। नेपालमा २०७६ सालको माघमा दुईकरोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट पुगेको थियो।

महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता

२५ माघ, काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् । लकडाउनअघि २ करोड १८ लाख ५२ …

आधाभन्दा बढी नेपालीले मोबाइलबाटै इन्टरनेट चलाउँछन्

नेपालमा मोबाइल फोनको प्रयोग बढेसँगै इन्टरनेट प्रयोगकर्ता पनि बढेका छन् । टेलिकम कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूका कुल ग्राहक २ करोड ३२ लाख पुग्दा यसमध्य डेढ करोड प्रयोगकर्ता थ्रिजी तथा फोरजी मोबाइल सेवाका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) अनुसार १ करोड ६९ लाख मोवाइल प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्ने गरेको […]