काठमाडौं (अस) । भुक्तानी सेवा प्रदायक डिजी पे प्रालिले ‘स्थानीय बिजनेश पार्टनरशिप योजना’ अघि सारेको छ । कम्पनीले दुर्गमसम्म सेवा विस्तार तथा सर्वसाधारणलाई विद्युतीय भुक्तानी सम्बन्धी थप जानकारी गराउन उक्त योजना ल्याएको हो । कम्पनीले आफ्नो सेवा तथा सुविधा अझ प्रभावकारी बनाउन ‘डिजी पे फ्रेन्चाइज’मार्फत ‘स्थानीय बिजनेश पार्टनरशिप’ योजना ल्याइएको जानकारी दिएको छ । सन् २०१७ मा स्थापित डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई–कमर्श, इभेन्ट तथा ट्राभल टिकट खरीदविक्री लगायत कारोबार गर्न सकिन्छ । त्यस्तै डिजिटल भोटिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपालमा चलिरहेका फ्रेन्चाइजमध्ये आफूले ल्याएको फ्रेन्चाइज पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित रहेको कम्पनीले दाबी गरेको छ ।
फ्रेन्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागू गरी सहज तरीकाले आम्दानी गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने बताइएको छ ।
‘व्यवसायीको उच्च प्राविधिक दक्षता आवश्यक नपर्ने, पूर्ण परीक्षित तथा प्रमाणित एप रहेको, निर्धारित भौगोलिक क्षेत्रमा आधारित, थोरै लगानीमा पनि आबद्ध हुन सकिने विशेषता डिजी पे फ्रेन्चाइजका हुन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।