तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गरेका हुन् ।
भवनको कुल लागत १३ करोड ७४ लाख एक हजार ७८१ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । भवन पाँच तले बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तला निर्माण गरिनेछ ।
पहिलो चरणामा दुई करोड ३९ लाख ८८ हजार ७७८ विनियोजन गरिएको छ । उक्त भवन निर्माणको जिम्मा ज्ञानज्योति बिल्डर्स प्रालि काभ्रेले पाएको छ । ०७९ कात्तिक १५ गतेभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा प्रशासकीय भवन निर्माण सुरु गरेको थियो । भवन निर्माणको जिम्मा पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवा आँबुखैरेनीले पाएको थियो । उक्त निर्माण कम्पनीलाई गाउँपालिकाले एक करोड १७ लाख ६७ हजार ३५४ भुक्तानी गरेको जनाएको छ ।
त्यसैगरी दोस्रो चरण आव ०७७/७८ मा सिजल कन्स्क्ट्रसन जेभीले कामको जिम्मा पाएको थियो । ०७६ माघ २१ गते भएको सम्झौता गरी ०७८ साउन २१ गते निर्माण सकिँदै छ । उक्त निर्माण कम्पनीले एक करोड ९१ लाख १० हजार ११२ मा सम्झौता गरेको थियो । रासस