धितोपत्र बजार साम्राज्यवादको विकसित रूप हो : प्रचण्ड

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन् । शेयरबजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति घटिरहेका बेला माओवादीको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन। उनले नाफा सोहरेर सीमित समूहलाई धनी बनाउने यस्तो वित्तीय एकाधिकार सृजना गर्ने प्रणालीसँग लड्ने तरीका खोज्नुपर्ने बेला आएको पनि बताए । उनका अनुसार उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पूँजी धितोपत्र बजार, घरजग्गा कारोबार आदिमा जानु अर्थतन्त्रका लागि राम्रो होइन । पछिल्लो समयमा पूँजीको लगानी उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादकै विकसित रूप भएको उनको टिप्पणी छ । दाहालले भूमण्डलीकृत पूँजीवादलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पनि पार्टीको आधिकारिक दस्तावेजमा नै समावेश गराउने बताए । ‘पहिला पहिला पूँजीको लगानी उद्योगमा हुन्थ्यो । उत्पादनमा लगानी हुन्थ्यो । त्यहाँबाट आउने नाफा पूँजीपतिहरूले लिन्थे । आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन । पूँजीको लगानी पूँजीमै हुन्छ । पूँजीको लगानी पूँजीमै हुने वित्तीय पूँजीवाद देखा पर्‍यो,’ दाहालले भने । उनले धितोपत्र, सट्टा बजार, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंंक र एशियाली विकास बैंकहरू सबै साम्राज्यवादका विकसित रूप भएको र यिनले ८० प्रतिशत नागरिकलाई भोको नांगो राखेर २० प्रतिशतलाई थप धनी बनाउँदै लगेको जिकीर गरे । ‘अहिले तपार्इंले हेर्नुभयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एशियाली बैंक पैसा यताउता गर्छन् भन्ने होला, तर त्यस्तो होइन,’ दाहालले थपे, ‘यो साम्राज्यवादका विकसित रूपहरू हुन् । यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहरेर संसारका केही सीमित पूँजीपतिहरूको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नाँगो राख्ने प्रणाली हो ।’ माओवादीका तर्पmबाट अर्थमन्त्री बनेका मन्त्री जनार्दन शर्माले शिथिल अर्थतन्त्रलाई उकास्ने भन्दै अन्तरराष्ट्रिय मुद्रा कोषसँग रू. ४८ अर्ब विस्तारित कर्जा लिने तयारी गरिरहँदा अध्यक्ष दाहालले कोषलाई पनि साम्राज्यवादको विकसित रूप भएको बताएका हुन् । दाहालले बैंंकहरूमा रहेको रकम पनि सीधै घरजग्गा किनबेचमा भइरहेको र त्यसले छिटो नाफा कमाएकाले सबै रकम त्यही क्षेत्रमा खनिएको बताए । पूँजी बजारका विषयमा लामो समयदेखि वामपन्थी पृष्ठभूमिका नेताहरूले आलोचनात्मक कुरा बोल्दै आएका छन् । अर्थमन्त्री हुँदा बाबुराम भट्टराईले शेयरबजारलाई जुवाघरजस्तै रहेको बताएपछि लगानीकर्ताले उनको कडा आलोचना गरेका थिए । त्यसैगरी, २०७५ सालमा अर्थमन्त्री युवराज खतिवडाले पनि शेयरबजारलाई अनुत्पादक क्षेत्र भन्दै लगानीकर्तालाई निरुत्साहित गर्न खोजेका थिए । खतिवडाको पालामा शेयरबजार नराम्ररी घटेको थियो ।