कात्तिक २८, ग्लास्गो (स्कटल्याण्ड) । हरितगृह ग्यास उत्सर्जनको स्रोत खनिज इन्धन र कोइलाको प्रयोग घटाउने संकल्प गर्दै दुई सातादेखि ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप २६) सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको सो सम्मेलनमा सहभागी देशहरूले अर्को वर्ष इजिप्टको शामएल शेखमा हुने कोप २७ मा भेला हुनुअघि ठूलो परिमाणमा कार्बन उत्सर्जन कटौतीको लक्ष्य लिने वाचा गरेका छन् । वार्ताको अन्त्यतिर कोइलालाई ‘फेज आउट’ गर्नुपर्नेमा विश्वका नेताहरुले दबाब दिएका थिए ।
भारतका जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले यसप्रति आपत्ति प्रकट गरेपछि अन्तिम समयमा आएर वार्ता तनावपूर्ण बनेको थियो । हरितगृह ग्यास उत्सर्जनमा अग्रसर चीन र भारतले कोइला र खनिज इन्धनको प्रयोग घटाउने प्रतिबद्धता गरेपछि वार्ता सकारात्मक बनेको थियो ।
भारत र चीन अन्तिम समयमा कोइलालाई ‘फेजआउट’ मा नभएर ‘फेज डाउन’ गर्नमा सहमत भएका छन् । खनिज इन्धनको प्रयोग कम गर्ने भनी गरिएको वाचालाई विश्वका नेताहरुले सकारात्मक भन्दै ग्लास्गो जलवायु सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ग्लास्गो जलवायु सम्झौता (ग्लास्गो क्लाइमेट प्याक्ट) ले देशहरूलाई सन् २०२२ को अन्त्यसम्ममा विगतमा वाचा गरेअनुसार उत्सर्जन घटाउने लक्ष्य पूरा गर्नसमेत दबाब दिएको छ । ‘यो सम्झौताले जलवायु परिवर्तनसँग अनुकूलन गर्न विकासोन्मुख देशहरूलाई दिने रकम कम्तीमा दोब्बर गर्न शक्तिशाली राष्ट्रहरूलाई आग्रह गर्दछ,’ सम्झौतामा भनिएको छ ।
अति कम विकसित मुलुक र जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरुले अनुकुलनकालागि थप रकम दिइने अपेक्षा पनि छ । एजेन्सी