सर्लाहीमा सीमा अनुगमन

सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेललगायत रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वीनाका पर्सा गाउँपालिकास्थित संग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । ‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिलरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौं,’ उनले भने । दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानाका ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ । रासस

सम्बन्धित सामग्री

सीमाको अवस्था बुझ्दै सुरक्षा अधिकारी

सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।