वैशाख २२, काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुनपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
नेपाली सेनाले हाल नेपालमा बढीरहेको कोभिडको संक्रमणलाई ध्यानमा राख्दै विसं २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन भनेको हो ।
जङ्गी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले उक्त निर्णय गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ ।
यसको नियन्त्रण तथा रोकथामको लागि निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको नेपाली सेनाले बताएको छ ।