काठमाडौं । ५ करोड रुपैयाँको कारोबार गर्दै १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । शनिवार समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताए ।
मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पुर्याउने अर्थमन्त्री पौडेलले बताए । ‘देशमै रोजगारी सृजना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुन्छ,’ उनले भने । घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरणमा सघाउन नेपाल सरकार, अर्थ मन्त्रालय सधैं तयार रहेको उनले बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरूको सहयोगको प्रतिबद्धताले मेला आयोजना गरिएको बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
सरकारले आगाम दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाले सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने मेला संयोजक शोभा गुरुङले बताइन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । मेला साढे २ लाखले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भएको थियो । मुलुकभरका झन्डै ६ लाख लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको उद्देश्य थियो ।